•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:11:24 AM

सिन्धुलीमा विद्यार्थी मृत्यु प्रकरण : न्याय माग्दै धनुषामा सडक बन्द गरेर प्रदर्शन

- भाद्र २४, २०८१ मा प्रकाशित



सिन्धुली । सिन्धुलीमा विद्यालय छात्रावासभित्र विद्यार्थी मृत भेटिएको घटनामा पीडित परिवारले दिएको जाहेरी दर्ता गर्न माग गर्दै धनुषामा सडक अवरूद्ध पारेर प्रदर्शन गरिएको छ । जनकपुर–ढल्केवर सडखण्डमा लक्ष्मिनियाँ गाउँपालिका–४ स्थित सपहीमा स्थानीयले सडक अवरुद्ध गर्दै बिहान ७ बजेदेखि प्रदर्शन गरेका हुन् ।

दुई घण्टादेखि सडक अबरुद्ध हुँदा यातायात ठप्प छन् । गत भदौ २ गते सिन्धुलीको कमलामाई नगरपालिकास्थित रहेको भगवतीमाई इङलिस माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्ने सपही बस्ने १४ वर्षीय रजनीश साह होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटना भएको धेरै बेरसम्म आफूलाई जानकारी नै नदिएको मृतक रजनीशका बुवा गणेश साहले बताएका छन् ।

‘घटना तीन बजेतिरको रहेछ तर छोरा फेन्ट भएको भनेर मलाई स्कुलबाट साढे ४ बजे मात्रै खबर गरियो । सिन्धुलीमा उपचार सम्वभ नभएपछि धुलिखेल लाँदैछौँ भन्यो । राति १० बजे मैले अरुबाट थाहा पाएँ कि मेरो छोराले सुसाइड गरेको रहेछ,’ गणेशले भने । राति २ बजे आफू धुलिखेल अस्पताल पुग्दा छोराको मृत्यु भइसकेको पाएको उनले बताए ।  ‘घटना शंकास्पद छ, स्कुलले सिसिटिभी फुटेज किन देखाउँदैन,’ उनले भने ।

गत बिहीवार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा छोराको पोष्टमर्टम रिर्पोट माग्न जाँदा प्रहरीले वकिल, डाक्टरसहितका व्यक्तिलाई कार्यालयमै लिएर आएपछि मात्रै देखाउन मिल्ने भनेको गणेश बताउँछन् । सोही दिन प्रहरीले घटना शंकास्पद लागे जाहेरी लिएर आउन भनेका थिए । गाणेशले विद्यालयका संचालक, प्रिन्सिपल र वार्डेन सहित चार जना विरुद्ध किटानी जाहेरी दिन आइतबार पुगेका थिए ।

तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेको र विद्यालयकै पक्ष लिएको उनको भनाइ छ । ‘प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि हामी आधा घण्टा स्कुल अगाडि धर्ना बस्यौँ, प्रदर्शन गर्‍यौं । त्यसपछि त्यहाँका डिएसपीले दर्ता गरिदिन्छौँ भन्नुभयो तर गरिदिएन । हामी अन्यायमा परेपछि बाध्य भएर आन्दोलन सुरु गरेका छौं,’ उनले भने ।

Comments

सम्बन्धित खवर