•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:18:35 AM

पर्यटकीय नाम्चे र थामे अन्धकारमा , बाढीमा बेपत्ता भनिएका शेर्पा थामेकै स्कुलमा रात काटेर बिहान सम्पर्कमा

- भाद्र ४, २०८१ मा प्रकाशित



सोलुखुम्बु । थामेखोलामा आएको बाढीले कारण थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्‍याउँदा झण्डै एक हजार घरपरिवार प्रभावित भएका छन् । गत शुक्रबार खुम्बु पासाङल्हामू गाउँपालिका–५ थामेमा आएको बाढीले गाउँसहित नौ सय ३० किलोवाट क्षमताको उक्त परियोजनाको बाँधमा क्षति पुर्‍याएको थियो । जसका कारण वडा नं ४ खुम्जुङ, खुन्दे तथा वडा नं ५ नाम्चे र थामेका गरी नौ सय ६० घरभन्दा बढी घरपरिवार प्रभावित भएको खुम्बु विजुली कम्पनीका प्रबन्धक सोनाम दोर्जी शेर्पाले जानकारी दिए ।

गाउँपालिका वडा नं ५ का अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बाढीका कारण जलविद्युत् परियोजनामा क्षति पुगेको उल्लेख गर्दै सञ्चालनमा ल्याउनका लागि महिना दिनभन्दा बढी समय लाग्न सक्ने बताए । ‘बाढीका कारण परियोजनाको बाँधमा ठूलो क्षति पुगेको छ, मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने जानकारी दिइएको छ’, उनले भने ।  सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले विजुली नहुँदा सञ्चारलगायतका सेवा अवरुद्ध भएको बताए । ‘बाढीले विद्युत् आयोजनामा क्षति पुर्‍याएपछि समस्या भएको छ, बत्ती नुहँदा मोबाइल नेटवर्क समेत प्रभावित हुँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ । बाढीका कारण खुम्बुमा ठूलो क्षति पुगेको छ’, उनले भने ।

विद्युत् परियोजना मर्मतका लागि आइतबारदेखि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली खटिसकेको इलाका प्रहरी कार्यालय लुक्लाका इञ्चार्ज प्रहरी नायब निरीक्षक हेमबहादुर कट्वालले जानकारी दिए । उनले भने, ‘नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली मर्मतमा खटिएका छन् । क्षति ठूलो भएकाले तत्काल आयोजना सञ्चालन हुने सम्भावना न्यून भएको जानकारी प्राप्त भएको छ ।’ विद्युत गृहमा क्षति नभए पनि बाँध पूर्ण रुपमा क्षतिग्रस्त भएको नाम्चेका स्थानीय समेत रहेका राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले बताए ।

बाढी र पहिरोमा बगेर आएर ठूला ढुङ्गा बाँधमा थुप्रिएका छन् । उक्त ढुङ्गा हटाउनका लागि स्काभेटर मेसिन आवश्यक पर्ने उल्लेख गर्दै खुम्बु विजुली कम्पनीले आयोजना पुनः सञ्चालनका लागि केही समय लाग्न सक्ने जनाएको छ । हाल लुक्लाभन्दा तलको गाउँ थामडाँडासम्म मात्रै सडकको पहुँच रहेकाले सो स्थानसम्म स्काभेटर लैजान सहज नभएको कम्पनीको भनाइ छ ।

‘बत्ती नहुँदा खुम्बु क्षेत्र अन्धकारमा छ, बाढीले क्षतिग्रस्त विद्युत् आयोजना कसरी सञ्चालन गराउने भन्नेबारेमा छलफलमा छौँ’, राष्ट्रियसभा सदस्य शेर्पाले भने । उनले आफूहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले पनि समस्या समाधानका लागि चासो देखाएको बताए । उनले उक्त स्थानमा स्काभेटर मेसिन कसरी लैजाने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘मेसिन जतिसक्दो छिटो पुर्‍याउन सकियो त्यति नै चाँडो परियोजना पुनः सञ्चालनमा ल्याउन सकिन्छ, मानवीय जनशक्तिको मात्रै भरपर्ने हो भने एक वर्षभन्दा बढी समय लाग्ने देखिएको छ’, उनले भने ।

उक्त विद्युत् आयोजना सन् १९९३ मा स्थानीयको लगानी र अष्ट्रिया सरकारको सहयोगमा निर्माण भएको हो । सगरमाथा क्षेत्रमा पर्ने सो आयोजनाको क्षमता विस्तार गर्नका लागि भारत सरकारले सन् २०१३ मा चार करोड ४६ लाख सहयोग गरेको थियो  । उक्त रकमबाट आयोजनाको पेनस्टक पाइप निर्माण गरिएको थियो । छ सय ३० किलोवाट क्षमताको आयोजना भारत सरकारको सहयोगपछि स्तरोन्नति गरी नौ सय ३० किलोवाट क्षमताको बनाइएको थियो ।

उक्त क्षेत्रमा आजदेखि नेपाल टेलिकमको मोबाइल सेवा आंशिक रुपमा सञ्चालनमा आएको जनाइएको छ । यद्यपि नाम्चेभन्दा माथिको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । गत शुक्रबार दिउँसो थामेको शिरमा रहेका दुई वटा हिमताल फुट्दा थामे खोलामा आएको बाढीले खुम्बुसहित तल्लो सोलुका नदी आसपासका क्षेत्रमा क्षति पुर्‍याएको थियो । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्य चौकी र विद्यालय बगाएको थियो ।

बाढीले खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चेतर्फको क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको थियो । बाढी भोटेकोशी हुँदै दूधकोशीमा मिँसिदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको थियो । जसका कारण सल्लेरीबाट खुम्बुसम्मको आवतजावत अवरुद्ध भएको छ ।

बाढीमा बेपत्ता भनिएका शेर्पा थामेकै स्कुलमा रात काटेर बिहान सम्पर्कमा 

काठमाडौं । माथिल्लो क्षेत्रमा हिमपोखरी फुटेर आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेका २० वटा घर, होटलसहित स्वास्थ्य चौकी र विद्यालय बगायो । यो ठूलो दुर्घटनाबाट मानवीय क्षति भने भएन । स्थानीयले दिएको जानकारी अनुसार, ५५ वर्षीय ङिमा नुरू शेर्पा पहिरोपछि बेपत्ता भएका थिए ।

स्थानीयले दिएको सोही जानकारीलाई आधार मानेर दुई दिनसम्म प्रहरीले शेर्पाको खोजी गर्‍यो । थामेको बस्तीमा पसेको बाढीदेखि दूधकोशी नदीको तटसम्म पुगेर प्रहरीले उनको खोजी गरेको थियो । तर, शेर्पा एकाएक दुई दिनपछि आइतबार (भदौ २) अपरान्ह भेटिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार शेर्पा बाढी आउँदा थामेमै थिए ।

उनी राम्रोसँग सुन्न र बोल्न सक्दैनन् । उनी बाढी आएको दिन (साउन ३२) थामेमै रहेको स्कुलमा रात बिताएको पाइएको छ । ‘बाढी आउँदा उहाँ (ङिमा नुरू शेर्पा) थामेमै हुनुहँदो रहेछ,’ भुसालले भने, ‘बाढी अघिसम्म गाउँमै देखेका अन्यले नदेखेपछि बेपत्ता भए भनेर प्रहरीलाई खबर गरेको रहेछ ।’ शुक्रबार राति बाढीले क्षतविक्षत बनाएको विद्यालयको भवनछेउमा शेर्पाले रात काटेका रहेछन् ।

Comments

सम्बन्धित खवर