•  ४ आश्विन २०८१, शुक्रबार
  •  10:16:30 AM

शिवशिखर सहकारीका पूर्व अध्यक्ष शर्माको २२ अर्ब सम्पति ‘अवैध’

- भाद्र १, २०८१ मा प्रकाशित



काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष केदारनाथ शर्माको २२ अर्ब रुपैयाँ सम्पत्ति अवैध पाइएको छ । उनको सम्पतिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण मुद्दा जिल्ला अदालत भक्तपुरमा पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले दुई महिना बढी अभियोजन अध्ययन गरी आज (शुक्रबार) मुद्दा अदालत लगेको हो । आज मुद्दाको फाइल अदालतमा लगेको र आइतबार दर्ता हुने सरकारी वकिल कार्यालय स्रोतले जानकारी दियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केदारनाथलगायत नौं जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । विभागले केदारनाथ, उनकी पत्नी गीता, उनले सम्पत्ति लुकाउन प्रयोग गरेका व्यक्ति र विभिन्न कम्पनीलाई प्रतिवादी बनाइ ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगोसहितको मुद्दा दायर गर्न सिफारिस गरेको थियो । त्यसमध्ये २२ अर्ब ८१ करोड ९२ लाख ९० हजार ४१५ रुपैयाँ बिगो केदारनाथविरुद्धको रहेको छ  । सरकारी वकिल कार्यालयले नौं जनालाई प्रतिवादी बनाएको छ । शर्माकी पत्नी गीताविरुद्ध ५२ करोड रुपैयाँ विगो मागिएको छ । प्रतिवादी बनाइएकामध्ये ३ जना फरार छन् ।

यसअघि विभागले अनुसन्धान गरेर सिधै विशेष अदालतमा मुद्दा दायर गर्ने गरेकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ व्यवस्था भएपछि भक्तपुरमा पहिलो पटक सरकारी वकिल कार्यालयमार्फत सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा लगिएको हो ।

केदारनाथले सहकारीको रकम अपचलनका साथै बैंकबाट ऋण लिएर समेत दुरुपयोग गरेको देखिएको स्रोतले बताएको छ । उनले आफ्नै विभिन्न १३ वटा कम्पनीबीच कृत्रिम कारोबार गरेको भेटिएको छ । केदारनाथका कम्पनीहरुले उधारो कारोबारको रकम उठाउने प्रयोजनका लागि समेत सहकारीबाट कर्जा प्रवाह भएको कृत्रिम कागजात खडा गरेर समेत ऋण चलाएको अनुसन्धानबाट देखिएको छ ।

सहकारी संस्था एवं आफ्ना कम्पनीमा कार्यरत कर्मचारी समेतका नाममा उनले जग्गा जमिन खरिद गरी लुकाएको पाइएको छ । उनले आफ्नै कर्मचारी तेजबहादुर तामाङका नाममा ७० करोड ५९ लाख १८ हजार रुपैयाँ सहकारीबाट चलाएका छन् । उनले विभिन्न कम्पनीको नाम खडा गरी कृत्रिम ऋण लेखांकन गरी ५ अर्ब १३ करोड ५७ लाख ६१ हजार १७४ रुपैयाँ अपचलन गरेको भेटिएको छ ।

Comments

सम्बन्धित खवर