•  ४ आश्विन २०८१, शुक्रबार
  •  12:47:32 PM

गट्ठाघर दुर्घटना : ज्यान गुमाउने स्कुटर चालक महिला नभई पुरुष भएको खुल्यो

- श्रावण ३२, २०८१ मा प्रकाशित



काठमाडौं । भक्तपुरको गट्ठाघरमा हिजो (बिहीबार) दिउँसो ट्रकको ठक्करबाट ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए । यसअघि दोलखाको मेलुङ गाउँपालिका–४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो । तर उनले गलत जानकारी दिएको खुलेपछि प्रहरीले सनाखतको लागि थप प्रयास गरेको थियो ।

मृतक झण्डै ४०-४५ वर्षको पुरुष भएको परिसरले जानकारी दिएको छ । तर, उनको सनाखत भने हुन सकेको छैन । बिहीबार दिउँसो २ बजेतिर गट्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

शव क्षतविक्षत भएकाले दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला हो कि पुरुष हो यकिन गर्न प्रहरीलाई सकस परेको हो । शम्भु नेपालीले दुर्घटनामा आफ्नी बहिनीको मृत्यु भएको जानकारी गराएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो ।

आफ्नो मृत्युको समाचार सार्वजनिक भएपछि ती युवती प्रहरीको सम्पर्कमा आएकी थिइन् । स्कुटरलाई ठक्कर दिने  ट्रक चालक भने सर्लाही मलंगवा नगरपालिका– २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ रहेको खुलेको छ । उनी आफै प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

Comments

सम्बन्धित खवर