•  ३ आश्विन २०८१, बिहीबार
  •  10:14:38 PM

गोरखामा हाइड्रोका कामदार बसेको घर पहिरोले बगाउँदा चार बेपत्ता, दुई जना घाइते (नामावली)

- श्रावण १३, २०८१ मा प्रकाशित



गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५  सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । गए राति ३ बजेतिर गएको पहिरोमा हराएका एक जनालाई भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका स्वकीय सचिव राज गुरुङले जानकारी दिए ।

‘हामी अध्यक्ष ज्यूसहित अहिले घटनास्थलतिर जाँदैछौँ,’ आइतबार बिहान नौ बजे उनले भने, ‘घटनस्थल दुर्गम ठाउँमा छ । त्यहाँ पुग्न अझै हामीलाइ आधा घण्टा जति लाग्छ ।’  पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पुरिँदा घरमुली गुरुङसहित चार जना बेपत्ता भएका हुन् । सुरुमा ५ जना बेपत्ता भएका भए पनि पछि एक जनालाई गम्भीर घाइते अवस्थामा फेला पारिएको उनले बताए ।

बेपत्ता हुनेमा घरमुली जितबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ र बुवा कान्छामान गुरुङ छन् । त्यसैगरी सोही घरमा बास बसेका स्थानीय रमेश गुरुङ पनि पहिरोमा बेपत्ता छन् । उनी हाइड्रोका कामदार हुन् । पहिरोमा पुरिएर स्थानीय दिलिप गुरुङ गम्भीर घाइते भएका उनले जानकारी दिए । ‘दिलिपको अवस्था गम्भीर छ । अर्का घाइते खमबहादुर गुरुङ भने खतरा मुक्त छन्,’ राज गुरुङले भने, ‘घाइतेलाई हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजाने तयारी हुँदैछ ।’

पहिरोस्थल नजिकै वाटर इनर्जी हाइड्रो पावर निर्माणाधिन अवस्थामा छ । सोही हाइड्रो पावरमा काम गर्ने मजदुरसहित नौ जना गएराति सो घरमा बास बसेका थिए ।  राति एक्कासी स्थानीय ड्युपार खोलामा लेदोसहितको ठूलो बाढी आउँदा एउटा घर र एउटा गोठ पुरिएको उनले जानकारी दिए । घरमा बास बसेका केही कामदारले भने भागेर ज्यान जोगाएका छन् ।

पहिरोले एउटा कुखुरा फार्म र केही मेसिन पनि बगाएको उनले बताए । घटनास्थलबाट भागेर ज्यान जोगाएका खमबहादुरले पहिरोमा मानिसहरु पुरिएको जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले घटनास्थलमा अझै प्रहरी नपुगेको बताए । ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनस्थलतिर जाँदैछन्,’ उनले भने, ‘नजिकैको प्रहरी चौकीबाट पनि घटनास्थलमा पुग्न चार घण्टा लाग्छ । त्यहाँ गाडी जाँदैन । अत्यन्त दुर्गम ठाउँ हो ।’ प्रहरी टोली लाप्राक र माछाखोलाबाट घटनास्थलतर्फ गइरहेको उनले बताए ।

Comments

सम्बन्धित खवर