टिकापुरमा चितुवाको त्रास : घरबाट बाहिर निस्कनै कठिन
- श्रावण ९, २०८१ मा प्रकाशित
कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ । चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन् । केही दिनअघि वडा नं ८ फाटाका २२ वर्षीय अरविन चौधरी भाग्यले बाँचे । उनको शरीरमा घाउ लागेको छ । यद्यपि उनी खतरामुक्त छन् । उपचारपछि उनी तङ्ग्रिएका छन् । चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैंसी, बाख्रा, बङ्गुर र कुकुर मारेको छ ।
चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन । ‘राति शौचालय जान निस्केको थिए, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिए’, टीकापुर–७ का शिवम चौधरीले भने, ‘त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ । खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ ।’
गाउँमा जङ्गली जनावरको जोखिम बढेपछि वन सबडिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जीतराम चौधरी बताउँछन् । ‘अझै तीन किलोमिटर वनक्षेत्रमा तारजाली आवश्यक छ’, उनी भन्छन्, ‘जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम रहन्छ ।’
यहाँ सत्ती कर्णाली र श्रीलङ्का सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जङ्गल भएकाले जङ्गली जनावरको आक्रमण बढिरहेको वडा नंं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । पारिबाट हात्ती, बाघ र चितुवा आउछन्, टीकापुरका वडा नं ७, ८, ५ र २ मा जङ्गल क्षेत्र जोडिएकाले यी वडामा जङ्गली जनावरको जोखिम छ । वडा नं ८ मा चितुवा मात्र होइन हात्तीले समेत त्यत्तिकै सताउने गरेका छन् । हात्ती नियनत्रणका लागि तारजाली लगाउने, राति उज्यालो बनाउन बत्तीको व्यवस्था गरेको उनले बताए । बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि जङ्गली जनावर आउने भएकाले बस्ती असुरक्षित भएको उनको कथन छ ।
सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग कर्णाली करिडोर क्षेत्र जोडिएकाले जङ्गली जनावरको ओहोरदोहोर हुने जोखिम रहेको वन सबडिभिजन कार्यालयका अधिकृत मोहम्मद ताहा हुसेन निकरानीले बताए । ‘केही महिनादेखि जङ्गली जनावरको आक्रमण बढेको जानकारी आएको छ’, उनले भने, ‘त्यहाँ बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दिया हुँदै जङ्गली जनावर कैलालीका सामुदायिक वन प्रवेश गर्ने गरेका छन्, यसले पनि जोखिम बढेको छ ।’ डिभिजन कार्यालयले सामुदायिक वनलाई तारजाली लगाउन सहयोग गरेको र त्यहाँका नागरिकलाई सुरक्षित रहन सचेत गराइएको उनले बताए ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments