•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:36:02 AM

अशोकराज सिग्देल प्रधानसेनापति बन्ने निश्चित , आफ्नो भावी प्रधानसेनापति बारेमा नेपाली सेनाले भन्यो : केही विवाद छैन

- श्रावण ४, २०८१ मा प्रकाशित



इटहरी । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने निश्चित भएको छ । यसअघि उनको उमेरसम्बन्धी विवादले संसय पैदा भएको थियो । सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरेर सेनाले पहिलो पटक रथी सिग्देलको उमेर विवादबारे प्रस्टीकरण दिदै कुनै विवाद नरहेको जनाएसँगै उनी प्रधानसेनापति बन्ने निश्चित भएको हो ।

रथी सिग्देलको २०४० सालमा रुपन्देहीबाट जारी भएको नागरिकता र २०५८ सालमा जाजरकोटबाट जारी भएको पहिलो प्रतिलिपिमा उल्लेख भएका सबै विवरण एउटै भएको सेनाको दाबी छ ।नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदैछ । त्यसपछि रथी सिग्देल प्रधान सेनापति बन्दै छन् ।

सिग्देल उपरथीबाट रथीमा बढुवा भए लगतैदेखि उनको उमेरलाई लिएर विवाद सिर्जना भएको छ । उनी रथीमा बढुवा हुनुअघि उपरथी ताराध्वज पाण्डे पनि रथीमा सिफारिस भएका थिए । तर उनको नागरिकतामा कीर्ते गरेको आरोप लागेको थियो । आरोपपछि पाण्डेले पदबाट राजीनामा दिए ।

उनको राजीनामा पछि रोलक्रम अनुसार सिग्देल रथीमा बढुवा भएका थिए । ‘अशोक जरसाबको विषयमा उहाँको तत्कालीन जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट २०४० साउन २९ गते लिएको नागरिकता म देखाउन चाहन्छु,’ केसीले सिग्देलले लिएको पहिलो नागरिकता देखाउँदै भने । उक्त नागरिकतामा सिग्देलको उमेर १७ वर्ष भनेर उल्लेख गरिएको बताए । त्यस्तै २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि लिएको उनले बताए ।

‘पहिले जारी भएकै नागरिकताको प्रतिलिपि लिनु भएको थियो । जसमा रूपन्देहीबाट जारी भएको विवरण कुनै पनि फरक नपरेको देखिन्छ,’ उनले भने । दुबै नागरिकतामा एउटै नागरिकता नम्बर र जारी मिति रहेको उनले बताएका छन् । सेनाले रथी सिग्देलको एसएलसीको प्रमाणपत्र पनि सार्वजनिक गरी त्यही जन्ममिति रहेको बताएको हो ।

‘एसएलसीको प्रमाणपत्रमा जन्ममिति २०२३–१०–१९ नै छ । जुन २०४० साल भदौ २९ गते जारी भएको थियो । अर्को २०४३ भदौ १२ मा सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको प्रमाणपत्र छ,’ उनले थपे, ‘त्यसमा पनि २०२३–१०–१९ नै छ । यसको अवाला नेपाली सेनामा भर्ना हुँदा पनि उहाँले यही नागरिकता र यही प्रमाणपत्र पेश गरेर भर्ना भएको पनि जानकारी गराउन चाहन्छु ।’ २०८० मंसिरमा सिग्देलको नागरिकतासम्बन्धी विवाद आएपछि रूजु गरेरै पदोन्नति गरेको उनले जानकारी दिएका छन् ।

Comments

सम्बन्धित खवर