•  १६ कार्तिक २०८१, शुक्रबार
  •  6:22:01 AM

आज शहिद दिवस : प्रधानमन्त्री प्रचण्डले भने ‘शहीद प्रेरणाका स्रोत र पथ प्रदर्शक’

- माघ १६, २०८० मा प्रकाशित



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् ।

शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले शहीदको योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको बताए ।

उनले भने, ‘यही यथार्थलाई आत्मसात् गर्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा सहादत प्राप्त गर्ने सपुतलाई राष्ट्रिय शहीद घोषणा गर्दै उहाँहरूको सम्मान र परिवारको संरक्षण र अभिभावकत्वको पक्षलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै वर्तमानमा प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति कर्तव्यनिष्ठ भएर अगाडि बढ्न शहीद दिवसबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले मुलुकका निम्ति जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाको उच्च सम्मान र घाइते योद्धाको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गरेका छन् ।
आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै
देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी रूपमा दिवस मनाउने कार्यक्रम जारी छ ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीको सम्झनामा दिवस मनाउन थालिएको हो । देश र जनताका लागि प्राण आहुति दिने शहीदहरूको विशेष सम्झना गरिने दिनका रुपमा शहीद दिवसलाई लिइन्छ ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।

यही माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ । प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ । यसैबीच नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ ।

Comments

सम्बन्धित खवर