महाकाली नदीमा तुइन हटाइए, सीमापुल सञ्चालन नहुँदा आवतजावतमा समस्या
- फाल्गुन १०, २०७८ मा प्रकाशित
दार्चुला: भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरु हटाएको छ । विगत तीन दिन देखि तुइन हटाएर तुइन लगाएको क्षेत्रमा एसएसबीले दैनिकरूपमा ड्युटी गर्न थालेको व्यास गाउँपालिका वडा नं ४ का स्थानीय एवं वडा सदस्य प्रेमसिह धामीले बताए ।
दार्चुला सदरमुकाम खलंगा बजार आवत जावत गर्न व्यासका स्थानीयले महाकाली नदीमाथि तुइन तरेर भारतीय सडकको प्रयोग गर्ने गरेका छन् । नेपालतर्फ राम्रो सडक नहुदाँ भारतीय बाटो प्रयोग गर्न स्थानियहरु बाध्य रहेको वडा सदस्य धामीले बताए ।
‘नेपालको बाटो भएर सदरमुकाम झर्न एक दिन हिँड्नुपर्छ’ उनले भने । तत्काल अस्पताल पुगाउनुपर्ने बिरामी देखि दैनिक उपभोग्य समान किनमेल गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थाले पछिल्लो समय तुइन हटाइँदा समस्या भएको छ । मलघट्टेको पुल निर्माण सम्पन्न भएकाले जनताको सहजताका लागि सञ्चालनमा ल्याइनुपर्ने उनको भनाइ छ । केही व्यक्तिहरु गेट बन्द गरिएको पुलबाट हाम फालेर आवत जावत गरिरहेकाले यसले झन दुर्घटनाको जोखिम निम्त्याएको छ ।
एसएसबीले तुइन हटाएको विषयमा आफू जानकार नभएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टले बताए ।
व्यास गाउँपालिकाको वडा नं ४ मलघट्टे र वडा नं ६ को बडुगाउँमा नेपाल भारत जोड्ने झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सकिँदा समेत पुलहरु सञ्चालनमा आएका छैनन् । वडुगाउँमा गत बर्ष पुल निर्माण सम्पन्न भएको थियो भने मलघट्टेमा अघिल्लो महिना पुल निर्माण सम्पन्न भएको छ ।
दार्चुलाको महाकाली नदीमा तुइन मुक्त कार्यक्रम अन्र्तगत चारवटा सीमापुल निर्माण भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । चारपुल मध्ये दुई पुल निर्माण सम्पन्न हुन बाकिँ छन् । पुलहरु प्याकेजमा सञ्चालन गरिने भएकाले निर्माण सम्पन्न भएपनि सञ्चालन गर्न नसकिएको उहाँको भनाई छ । एक प्याकेजमा मालिकार्जुन गाउँपालिकाको बाकु पुल र बडुगाउँ पुल तथा अर्काे प्याकेजमा व्यास गाउँपालिका २ मा निर्माण भइरहेको भारतको गस्कु र नेपालको माल जोड्ने पुल तथा मलघट्टे पुल रहेका छन् । एउटै प्याकेजमा रहेकापुलहरु निर्माण सम्पन्न भएपछि संगै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाई छ ।
बडुगाउँ पुल निर्माण सम्पन्न भएपनि बाकुँ पुल निर्माण सम्पन्न हुन बाकि छ । त्यसैगरि मलघट्टेको पुल निर्माण सम्पन्न भएपनि मालको पुल निर्माणधिन अवस्थामा रहेकाले सीमापुलहरु सञ्चालन हुन केहि समय पर्खिनुपर्ने अवस्था छ ।
एसएसबीले तुइन हटाएको विषयमा आफु जानकार नभएपनि तुईन हटाइनुपर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ । ‘तुइन जोखिम र असुरक्षित भएकाले हटाइनुपर्छ, तर हाल एसएसबीले तुइन हटाएको विषयमा जानकार छैन’ उनले भने ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१झापामा अन्तर–सीमा अपराध रोक्न सक्रिय सशस्त्र प्रहरी
-
ताजा मंसिर ८, २०८१अमेरिकामा कार रुखमा ठोक्किँदा नेपाली युवाको मृत्यु
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
Comments