•  ८ मंसिर २०८१, शनिबार
  •  7:02:10 AM

मोटरसाइकल दुर्घटनामा इन्जिनियरको मृत्यु

- फाल्गुन ८, २०७८ मा प्रकाशित



खोटाङ: खोटाङमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते इन्जिनियरको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका रावाबेँसी गाउँपालिकामा कार्यरत ३० वर्षीय इन्जिनियर दिपक ढुंगानाको अस्पताल लैजाने क्रममा शनिबार राति बाटैमा मृत्यु भएको हो । 

ऐसेलुखर्क गाउँपालिका-७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कने क्रममा प्रदेश ३-०-२-००७ प ५३३३ नम्बरको बाइकबाट सडकभन्दा करिब २५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको एम्बुलेन्सबाट काठमाडाैं लैजाने क्रममा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारको बोझेओढार पुगेपछि राति १२ बजे मृत्यु भएको रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए । 

ऐसेलुखर्क गाउँपालिकाका हुलास गुरुङले चलाएको बाइकको पछाडि बसेको अवस्थामा माक्पाको बाक्चुवा भीरबाट खसेका ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो । गम्भीर घाइते भएका इन्जिनियर ढुंगानालाई स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार गरेपछि हेलिकोप्टरबाट काठमाडाैं लैजाने प्रयास भए पनि रात परेकाले असम्भव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । 

इन्जिनियर ढुंगाना आफ्नो बाइक अर्कैलाई चलाउन दिएर गुरुङको पछि बसेर गाउँपालिका फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । गुरुङलाई बाइकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । चितवनको भरतपुर महानगरपालिका-६ जगतपुरका ढुंगाना दुई महिनाअघि मात्र इन्जिनियरका रूपमा रावाबेँसी गाउँपालिका आइपुगेका थिए । चितवनबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर