•  ३१ भाद्र २०८१, सोमबार
  •  1:54:43 AM

भारतमा छात्रालाई हिजाव प्रतिबन्ध लगाएको विषयमा मुख खोलिन मलालाले

- माघ २६, २०७८ मा प्रकाशित



नयाँ दिल्ली:

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाइले भारतमा कक्षा कोठामा हिजाव लगाउन पाउने अधिकारका निम्ति आन्दोलन  गरिरहेका ६ विद्यार्थीको पक्षमा बोलेकी छिन् । हिजावमाथिको प्रतिबन्धलाई मलालाले डरलाग्दो भनेकी छिन् । 

‘हिजाव लगाएर छात्राहरुलाई विद्यालय जान अनुमति नदिनु डरलाग्दो हो,’ २४ वर्षीया मलालाले ट्विट गरेकी छिन् । मलालाले मुस्लिम महिलाहरुकोसीमान्तकरण रोक्न भारतीय नेताहरुलाई आह्वानसमेत गरेकी छिन् ।

कलेजमा हिजावमा प्रतिबन्धको विरोधमा कर्नाटक राज्यमा किशोरीले केही सातादेखि आन्दोलन गरिरहेका छन् । हिजाव विवादले राज्यभित्र धार्मिक तनाव बढेको छ । विरोधपछि विभिन्न स्थानमा भएका झडपपछि तीन दिन विद्यालय र कलेज बन्द भएका थिए ।

सो विवाद भारतका राष्ट्रिय पत्रपत्रिकाको मुख्य शीषर्क बनेको थियो । विवाद राज्यको उच्च न्यायालयसम्म पुगेको छ ।
 
हिजाव लगाउनु भारतको संविधानले सुनिश्चित गरेको धर्मसम्बन्धी आधारभूत अधिकार भएको तर्क गर्दै एक विद्यार्थीको तर्फबाट अदालतमा मुद्दा दायर भएको छ ।

एउटा माध्यामिक विद्यालयको व्यवस्थापनले कक्षा कोठामा हिजाव लगाउन प्रतिबन्ध लगाएपछि किशोरीहरु त्यसको विरोधमा प्रदर्शन सुरु गरेका थिए । 

बालिकाहरुको शिक्षाका पक्षमा वकालत गरेको भन्दै सन् २०१२ मा पाकिस्तानका तालिवानले मलालालाई गोली हानेर गम्भीर घाइते बनाएका थिए । -एजेन्सी

Comments

सम्बन्धित खवर