•  २ कार्तिक २०८१, शुक्रबार
  •  2:28:00 PM

दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा

- कार्तिक २, २०८१ मा प्रकाशित



इटहरी । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार भेटघाट कार्यक्रममा यस्ताे बताएकाे हाे ।  दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको साे कार्यालयले  जनाएको छ ।

घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका  प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मानवीय क्षती भएको उनले बताए ।

प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने सात जना घाइते भएका छन् ।विवरण अनुसार सुनसरीकाे इटहरीमा मात्रै १६ वटा दुर्घटनाका घटना भएका छन जसमा मानवीय क्षती भने नभएकाे कार्यालयले जनाएकाे छ ।  झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यसैगरी धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको छ ।

बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा परेका छन् भने रु ५१ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा दसैँका बेलामा छ दिनमा एक सय ३५ वटा सवारी दुर्घटना भएको थियो ।

Comments

सम्बन्धित खवर