•  २ कार्तिक २०८१, शुक्रबार
  •  8:14:34 PM

साइकल खोज्दा भेटिए चन्द्रबहादुरका हत्या आरोपी : आरोपी अनिल वैशाखमा मात्रै छुटेका थिए जेलबाट

- आश्विन २९, २०८१ मा प्रकाशित



नेपालगञ्ज । बडादशैंको राति टाउको काटिएको अवस्थामा भेटिएका चन्द्रबहादुर कामीको हत्या आरोपमा  ३० वर्षीय अनिल परियारलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । साविक घर्तीगाउँ रोल्पा निवासी परियारलाई अघैया–कुसुमखण्डमा लुकेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले मंगलबार बिहान पक्राउ गरेको बाँकेका डीएसपी आयुष्मान जोशीले जानकारी दिए ।

परियारलाई पक्राउ गरिए पनि हत्याको कारण भने अझै खुलिनसकेको प्रहरीले जनाएको छ । असोज २६ गते कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शीतलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राति कामीको टाउको नभएको शव फेला परेको थियो ।

घटनापछि प्रहरीले निरन्तर अनुसन्धान जारी राखेपछि सोमबार मृतकको टाउको अनिल परियारको बहिनीको घरको शौचालयको सेफ्टी ट्याङकीमा फेला पारेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा विजयादशमीको दिन दिनभरसँगै रहेका अनिल परियार घटनापछि फरार भएका थिए । फरार रहेको आधारमा शङ्का गर्दै अनुसन्धान अगाडि बढाइएको थियो । परियारलाई म्याद थप गरी थप अनुसन्धानका लागि कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।  चन्द्रबहादुरको हत्यापछि अनिल जंगलको बाटो हुँदै भारत प्रवेश गर्ने योजनामा थिए ।
साइकल खोज्दा आरोपी भेटिए
चन्द्रबहादुर कामीको शव फेला परेपछि स्थानीयको सूचनाको आधारमा इप्रका कोहलपुरबाट प्रहरी निरीक्षक भट्ट र प्रहरी निरीक्षक हरि भट्टराई नेतृत्वको संयुक्त टोली अनुसन्धानका लागि खटिएको थियो । कोहलपुरको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर पनि झिकाइयो ।

जिल्ला प्रहरी कार्यालय बाँके नेपालगञ्जबाट पनि प्रहरी निरीक्षक नवीन चापागाईंको नेतृत्वमा पनि टोलीले अनुसन्धान अगाडि बढायो  । अनुसन्धानबाट घटनास्थलबाट करिब डेढ–दुई सय मिटर नजिकै एउटा सिसिटिभी क्यामेरा भेटियो ।
त्यसबाट फुटेज संकलन गरी हेर्दा सुनसान रातमा एक युवक कैद भएको देखिएको देखिए । फुटेजमा युवकले केही सामान बोकेको देखिएको थियो । उनी साइकलमा सवार थिए । ती पुरूषबारे खोजी गर्दै जाँदा त्यस ठाउँबाट झण्डै पाँच सय मिटर टाढा प्रहरी अनिता परियारको घरमा पुग्यो ।

प्रहरीले उनको घरको आँगनमा रहेको एउटा ढुंगामा रगतको खत समेत फेला पार्‍यो । सिसीटिभीमा देखिएका व्यक्तिबारे अनितालाई प्रहरीले सोधपुछ गर्दा उनले आफ्नो दाइ नाता पर्ने बताइन् ।  साइकल फेला परेपछि हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न र घटना अनुसन्धान गर्न थप मद्दत पुगेको प्रहरीले बताएको छ । सिसिटिभी फुटेजमै मृतक चन्द्रबहादुर र अनिलबीच झगडा भएको दृष्य समेत प्रष्टसँग कैद पाइएको प्रहरीले जनाइएको छ ।

दुवैले मदिरा सेवन गरेको र त्यसैबीच झगडा हुँदा हत्यासम्म हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । कसैले घर आँगनमै राखेको हतियार फेला पारेर अनिलले प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका आरोपी अनिल वैशाखमा मात्रै जेलबाट छुटेका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरबाट उनीमाथि बलात्कार मुद्दा चलेको थियो । दोषी ठहर भई वैशाखमा मात्रै जेलबाट उनी रिहा भएका हुन् । चन्द्रबहादुरको शव पोष्टमर्टका लागि प्रहरीले भेरि अस्पताल नेपालगञ्जमा पठाएको छ ।

Comments

सम्बन्धित खवर