•  २ कार्तिक २०८१, शुक्रबार
  •  8:15:09 PM

बीपी राजमार्ग : जोखिम र जामका बीच यात्रा गर्नुपर्ने वाध्यता

- आश्विन २९, २०८१ मा प्रकाशित



काठमाडौं । गत असोज १० गतेबाट आएको भीषण वर्षाको कारण आएको बाढी पहिरोले बगाएको बीपी राजमार्गमा डाइभर्सन गरी यातायात खुलाइएको छ । संघीय राजधानीलाई पूर्वी जिल्लासँग जोड्ने छोरी राजमार्ग भएका कारण पहिरो पन्छाएसँगै वीपी राजमार्गमा गाडीहरुको चाप बढेको छ ।

दशैँमा टीका लगाउन गाउँ गएकाहरु ध्माधम काठमाडौं फर्किन थालेसँगै अहिले बीपी राजमार्गमा सवारी साधनको भीड बढेको छ । सोमबार सडकमा साना सवारी साधनको निकै लामो लाइन देखिएको छ । रोशी खोलाको बाढी र पहिरोले बगाएको सडक फूलपातीको दिन राति खोलिएको भए पनि राति नै सुख्खा पहिरो गएपछि बन्द भएको थियो । पुनः सुक्खा पहिरो हटाएर सवारी साधन सञ्चालनको लागि खुल्ला गरिएपछि सोमबार सो सडकमा यातायात साधनको चाप बढेको छ ।

विभिन्न ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा सञ्चालन गरिएको सडकमा डाइभर्सनमा गाडीहरुको जाम लाग्ने गरेको छ । साँघुरो बाटोमा एकतर्फी मात्रै यातायात साधन चल्ने हुँदा सडक जाम भएको हो ।  डाइभर्सनमा लामो समयसम्म यातायात साधनले पालो पर्खनु पर्ने अवस्था छ । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन निक्कै अप्ठेरा छन् । ‘बाटो अप्ठेरो रहेको र चौकी डाँडाको डाइभर्सनमा लामै पालो पर्खनु पर्ने चालकहरु बताउँछन् ।

सोमबार साँघुरा डाइभर्सनमा सडक मर्मत गर्ने काम भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा सडक मर्मतका लागि आफै डोजरसँग दिनभरि खटिएका थिए । मंगलबारबाट सो सडकमा रुटका गाडी समेत चल्ने भएका छन् । सो रुटको अनुमति लिएका गाडीलाई भोलिबाट सडक डिभिजन कार्यालय भक्तपुरले सञ्चालनको अनुमति दिएको छ । सुख्खा पहिरो जान सक्ने भन्दै रातको समयमा भने यातायात सञ्चालनमा रोक लगाइएको कार्यालयले जनाएको छ । आज माम्ति र चौकीडाँडामा सडक मर्मत गरी भोलिबाट क्युका ठूला बस समेत सञ्चालन गर्न दिने कार्यालयले जनाएको छ ।

सो सडकमा यातायातको चाप निकै बढे पनि सडक भने जोखिमपूर्ण रहेको छ । बाढी पहिरोले चर्किएका भित्तामा सवारी चापले थर्किएर सुक्खा पहिरो जाने जोखिम छ ।  सो सडकको काभ्रे भञ्जयाङदेखि खुर्कोटसम्मकै सडक जोखिमपूर्ण छ । रोशी खोलाले कटान गरेको ठाउँमा ठाउँ ठाउँमा खोलै खोला डाइभर्सन निर्माण गरिएको छ । काभ्रे भञ्ज्याङदेखि खुर्कोटसम्म बाँकी रहेको सडक पनि ठाउँ ठाउँमा धसिएर र चर्किएर धराप बनेको छ ।

Comments

सम्बन्धित खवर