•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:10:21 AM

दुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी

- आश्विन २५, २०८१ मा प्रकाशित



इटहरी । बाढी–पहिरोले क्षति पुर्‍याएपछि दुई सातादेखि अवरुद्ध बीपी राजमार्ग आज (शुक्रबार) देखि सञ्चालनमा आएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग १४ दिनदेखि अवरुद्ध भएको थियो ।

आज बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा ल्याउने गरी मर्मतको अन्तिम चरणको काम भइरहेकोमा बिहान ८ बजेदेखि सडक खुलेको र गाडी चल्न थालेका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिएका छन् । अवरुद्ध सडक खुलाउन रातदिन र चाडपर्व नभनी काम गरिएको उनको भनाइ छ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी– ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । रोशी ९ मंगलटारका स्थानीय रूपक अधिकारीका अनुसार बोक्सीकुनाको डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन् ।

यही असोजको दोस्रो हप्ताको बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म क्षति पुर्याएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध थियो । राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरू गरिएको थियो । यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको थियो । उनका अनुसार आजदेखि कतै एकतर्फी र कतै दुईतर्फी राजमार्ग खुलेको छ । कतै कतै जोखिम कायमै छ । अब सडक खुलेपछि आउजाउ गर्नेलाई केही सहज भएको छ ।

Comments

सम्बन्धित खवर