•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:09:15 AM

सुनसरीका कृषकहरू भन्छन : ‘यस पटकको दसैं दशा भएर आयो’

- आश्विन २४, २०८१ मा प्रकाशित



इटहरी । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले तीमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनले भने, ‘दसैं अगाडि नै धान भित्र्याउने सोच बनाएको थिएँ ।  आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए ।  यसबाट आएको आम्दानीबाट दसै‌ मनाउने सोच थियो ।’

यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन ।  उनले भने, ‘बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।’ यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए ।

उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार खर्च गरेका थिए । उनले भने, ‘बाढीले  भित्र्याउने बेलामा भएको धानबालीमा धेरै नै क्षति भयो ।  यस पटक दसैं दशा भएर आयो ।’ बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौंको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले  बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले बाढीबाट दुई करोड ५० लाख बराबरको धान नोक्सानी भएको बताए । उनले भने, ‘बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी  छ  ।’

Comments

सम्बन्धित खवर