•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:09:01 AM

माइला लामालाई स्वास्थ्यमन्त्रीले सोधे : उपचारको पैसा तिर्नु त परेन नि ?

- आश्विन २०, २०८१ मा प्रकाशित



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद प्रभावित क्षेत्रमा विपदपछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको अनुगमन गरेका छन् । बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर घाइतेहरूले निःशुल्क उपचार पाए वा नपाएको जानकारी लिएका छन् ।

मन्त्री पौडेलले उपचाररत घाइतेहरूसँग सेवाबारे जानकारी लिँदै निःशुल्क उपचार पाए नपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै प्रश्न पनि गरेका छन् । परिवारका सात जना सदस्य गुमाएका माइला तामाङसँग परिवारको दुःखप्रति सहानुभूति प्रकट गर्दै मन्त्री पौडेलले उपचार सेवामा कुनै कमी भए भन्न आग्रह समेत गरे । जवाफमा तामाङले भने, ‘उपचार त राम्रो पाइरहेको छु । पैसा तिर्नु पनि परेन । तर परिवारका कोही बचेनन्, बस्ने घर पनि छैन । सरकारले उपचारपछि जाने ठाउँ पनि खोजिदिए हुन्थ्यो ।’ मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने भन्दै बाँकी सहयोगका लागि पनि सकेको पहल हुने बताएका छन् ।

मन्त्री पौडेलले अब प्रदूषित पानी तथा फोहोरका कारण संक्रमण फैलन सक्ने भन्दै त्यसलाई रोकथाम गर्न पनि सचेतना फैलाउन र उपचारको तयारी गर्न आग्रह गरे । मन्त्री पौडेलले प्रभावित बेथानचोक तथा पनौती बजारको अवलोकन गर्दै स्वास्थ्यकर्मीहरूले पुर्‍याएका सेवाको प्रशंसा गरे । पनौती १२ भूमिडाँडा कलातीमा पहिरोमा भत्किएको स्वास्थ्य चौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई सेवाका लागि धन्यवाद दिँदै मन्त्री पौडेलले नागरिकलाई संक्रामक रोग लाग्न नदिन पानीको शुद्धीकरण र सरसफाइका लागि चाहिने सामग्री आवश्यकताअनुसार उपलब्ध गराउने बताए ।

Comments

सम्बन्धित खवर