•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:05:16 AM

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, विराटनगर भन्सार परिसर तनावग्रस्त

- आश्विन १८, २०८१ मा प्रकाशित



इटहरी । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित विराटनगर भन्सार कार्यालय (आईसीपी) परिसर तनावग्रस्त बनेको छ । भन्सार कार्यालय जाने सडकमा दुर्घटना भएर साइकल यात्रीको मृत्यु भएको विषयलाई लिएर स्थानीय ढुङ्गामुढामा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो ।

आक्रोशित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर  ढुंगामुढा गरेको छ । भन्सार कार्यालय तोडफोडको प्रयासपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले १० शेल अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

उनका अनुसार विराटनगर–१८ स्थित आईसीपी रोडमा ट्रकको ठक्करबाट बिहीबार साँझ १ जना साइकलयात्रीको मृत्यु भएको थियो । ट्रकको ठक्करबाट विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो ।

गम्भीर घाइते उनलाई इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले उपचारका लागि विराट नर्सिङ होम पठायो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिए । ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० दीपक यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । ट्रक चालकको लापरवाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।  दुर्घटनापछि बिहीबार साँझ विराट नर्सिङ होसमा समेत तनाव भएको थियो । आक्रोशित भिडले अस्पतालमा तोडफोडको प्रयास गर्दै सुरक्षा गार्ड र कर्मचारीमाथि दुव्र्यवहार समेत गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले भने सुरुमा अस्पतालका सुरक्षा गार्डले कुटपिट गरेको बताएका छन् । अहिले पनि मृतकको शव अस्पतालमै छ । परिवारका सदस्य र आफन्तले बुझ्न अस्वीकार गरेका छन् । आईसीपी रोडमा सवारी दुर्घटना धेरै भइरहेको भन्दै विरोधमा स्थानीय आन्दोलित बनेका छन् ।

त्यस क्रममा आक्रोशित भीडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको डीएसपी जोशीले बताए । उनका अनुसार ढुंगामुढाबाट भन्सारको गेट र भवनमा क्षति पुगेको छ । कार्यालय भवनको शिशाहरु फुटेका छन् ।  भीड रोक्ने क्रममा ढुंगामुढा हुँदा असइ (प्रहरी सहायक निरीक्षक) सहित ४ जना प्रहरीले सामान्य घाइते भएको जानकारी जोशीले दिए । भीड थप आक्रोशित बनेर अनियन्त्रित हुँदै गएपछि नियन्त्रणमा लिन अश्रुग्यास र लाट्ठी प्रहार समेत गर्नु परेको उनको भनाइ छ ।

Comments

सम्बन्धित खवर