•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:13:33 PM

‘हनि ट्रयाप’ मा पारी अपहरण , पाँच लाख फिराैती लिएर हत्या : २२ वर्षीया युवती सहित ५ जना पक्राउ

- आश्विन १७, २०८१ मा प्रकाशित



भक्तपुर । भक्तपुरबाट एक व्यक्तिको अपहरणपछि हत्या गरिएको छ । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पाँचखाल नगरपालिका–८ को ४९ किलोमा एक पुरूषको शव फेला परेको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी नगरपालिका–९ बस्ने २१ वर्षीया मनिषा महत, शंखरापुर नगरपालिका–५ बस्ने २२ वर्षीया सरिन घिमिरे, महोत्तरी घर भई भक्तपुरको कौशलटार बस्ने २० वर्षीय आशिष पासवान, शंखरापुर नगरपालिका–५ बस्ने २१ वर्षीय रिकेश पौडेल र बागलुङ घर भई कोटेश्वर बस्ने १९ वर्षीय प्रतीक गौतम छन् । अरु व्यक्तिहरू फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको समूहले विनोदलाई ‘हनीट्रयाप’ मा पारेर अपहरण गरी पाँच लाख फिरौती लिएपछि हत्या गरेको अनुसन्धानमा खुलेको छ  । असोज ६ गते बिहान साढे ८ बजे ४९ किलोमा कीर्तिपुर नगरपालिका–५ बस्ने ५० वर्षीय विनोद खड्गीको हत्या गरिएको अवस्थामा शव फेला भेटिएको डिएसपी मीनबहादुर घलेले जानकारी दिए । शवको पहिचान नखुलेपनि पछि सामाजिक सञ्जालमा प्रकाशन गरेपछि मृतक विनोद खड्गी भएको खुलेको थियो । उनका छोरा विशालले शवको सनाखत गरी कार्यालयमा जाहेरी दिएका थिए ।

घटनाको अनुसन्धानपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । उनीहरूले विनोदलाई अपहरण गरी पाँच लाख रुपैयाँ फिरौती समेत लिएर हत्या गरेको पाइएको छ । उनीहरूमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काभ्रेबाट १७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

डिएसपी घलेका अनुसार यस घटनामा मुख्य योजनाकार मनिषा हुन् । मनिषा तीन महिना अगाडि भारतमा थिइन् । भारतीय नागरिकहरू अन्सु र शिवम नाम गरेका व्यक्तिहरूसँग मिलेर ग्रेटर नोइडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरी साढे एक लाख लिएर मनिषा नेपाल फर्किएको डिएसपी घलेले जानकारी दिए । नेपाल फर्किएर पनि त्यसै गरी धनी व्यक्तिलाई निशाना बनाएर ‘हनि ट्रयाप’ मा पारी पैसा लुट्ने मनसाय उनको थियो ।

योजना अनुसार असोज ४ गते साँझ ५ बजेतिर मनिषाले भक्तपुर राधेराधेमा रहेको डेरामा अन्सु, शिवम, सरिन र रिकेशलाई योजना सुनाएकी थिइन् । त्यसको लागि उनले कसलाई लुट्ने भनेर व्यक्ति समेत छानेको खुलेको छ । मनिषाले समूहमा योजनाबारे सुनाउँदै भनिन्, ‘भोलि एक जना पैसावाला गाडी भएको व्यवसायी आउँछ शुरूमा रक्सी खुवाउने, खाना खाएपछि कुट्ने, हातखुट्टा बाँधेर पैसा असुल्ने ।’

योजना काठमाडौंको बानेश्वरमा भेटेर अन्सुले प्रतीकलाई पनि सुनाएका थिए । आशिषलाई पनि अन्सुले योजना सुनाएकी थिइन् । योजनाअनुसार असोज ५ गते करिब १० बजेतिर मनिषाले विनोदलाई बोलाएकी थिइन् । उनले आफ्नो नागरिकताको प्रतिलिपी बनाउन जानुपर्ने भन्दै सहयोगको मागिन् । त्यसपछि विनोद साढे ११ बजेतिर आफ्नो गाडी किया सोरेन्टो लिएर मनिषाको कोठामा पुगेका थिए ।

त्यहाँ शिवम र मनिषा खाना पकाउँदै थिए । विनोद भने पछि त्यहाँ बसेर अण्डा, रक्सी खाँदै थिए । शिवम योजनाअनुसार घरबाट निस्केर अन्सुलाई फोन गर्छन् । अन्सुलाई अबको पाँच मिनेटभित्र हिमालय गेटबाट हिँड्नु भनेपछि अन्सु, शिवम, सरिन, रिकेश, प्रतीक र आशिष त्यहाँबाट कोठामा पुगे ।

ढोका खोल्ने बित्तिकै कुटपिट गर्ने योजना अनुसार उनीहरूले विनोदलाई संवेदनशील अङ्गमा समेत गरी कुटपिट गरी सक्त घाइते बनाएको अनुसन्धानमा देखिएको छ । त्यसरी कुटपिट गरेपछि फिरौती माग गर्ने विषयमा उनीहरू अगाडि बढेका थिए । ३० लाख माग्ने कुरा भए पनि मनिषाले धेरै भएको भन्दै १० लाख मात्रै मागौं भनेर सल्लाह गरेको पाइएको छ । विनोदले भने आफूसँग पाँच लाख मात्रै भएको बताएका थिए ।

‘विनोदले म ५ लाख दिन तयार छु भनेपछि आफ्नै मोबाइलबाट बधशालामा काम गर्ने प्रदीप थापा मगरलाई फोन गर्न खोजेका थिए । तर पछि उनको मोबाइल ह्यांग भएपछि अन्सुको फोनमा विनोदको सिम हालेर फोन गरी तुरून्त ५ लाख रुपैयाँ लिएर राधेराधेको भाटभटेनी अगाडि ल्याउनु  र आर १५ नम्बरको मोटरसाइकलमा आउने व्यक्तिलाई पैसा दिनु भनेको खुलेको छ,’ डिएसपी घलेले सुनाए । आशिष पासवान गएर उक्त रकम पनि लिएर आएका थिए । तर पैसा लिएपछि पनि विनोदलाई छाडे भोलिका दिनमा आफूहरूलाई नछाड्ने निष्कर्षमा पुगेका थिए । त्यसपछि उनीहरू विनोदको हत्यासम्म गर्ने योजनामा पुगेको पाइएको छ ।

त्यसपछि राति १० बजेतिर उनीहरू भक्तपुरबाट सूर्यविनायक गणेश मन्दिर हुँदै गुण्डुतर्फ जाने बाटोमा पुगेका थिए । त्यहाँ गाडी रोकेर ढुंगाले छातीमा हानेर हत्या गरेको अनुसन्धानमा खुलेको डिएसपी घलेले जानकारी दिए । हत्यापछि साँगाको धुलिखेल हुँदै पाँचखालस्थित ४९ किलोस्थित अरनिको राजमार्गबाट ८ मिटर तल झाडीमा शव फालेको अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनीहरू सबै जना आ–आफ्नो घरमा गएको देखिएको प्रहरीले जनाएको छ । असोज ६ गते अन्सुले मनिषालाई एक लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार र अन्सुले आफ्नो दिदी रोशनी महतलाई ५० हजार गरी एक लाख ८० हजार दिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Comments

सम्बन्धित खवर