•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:06:48 PM

दाउन्ने सडक एकतर्फी चल्दै : सवारीको चाप

- आश्विन १६, २०८१ मा प्रकाशित



बुटवल । निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक आज (बुधबार) बिहानदेखि खुलेको छ । गए राति मर्मतका लागि सडक बन्द गरिएको थियो ।

मर्मतपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । रातको समयमा रोकिएका सवारी साधनको चापका कारण मर्मत भएको स्थानमा अहिले एकतर्फी रूपमा सवारी साधनलाई आवतजावत गराउँदै आइएको र चाप कम भएपछि दुईतर्फी सञ्चालन हुने उनले जानकारी दिए ।

सडक पूर्णरूपमा मर्मत हुन नसकेकाले दिउँसोको समयमा सवारी साधन सञ्चालन गर्दै सडक छेउबाट मर्मतको काम हुने जनाइएको छ । पानी परेमा भने कुनै पनि बखत सडक अवरुद्ध हुन सक्ने एसपी फुयालले बताएका छन् । भासिएको सडक छेउको भित्तालाई फोडेर सडक फराकिलो पार्ने काम गरिँदै आइएको छ । सडक चार मिटर भासिएको छ ।

सोमबार दिउँसो दाउन्ने पहाडस्थित खुर्सानी खोलामा सडकको पर्खाल भत्किएर विद्युतको हाइटेन्सन टावर ढलेपछि सडक भासिएको हो । यसैबीच, सडक छेउमा ढलेको विद्युत हाइटेन्सन लाइनलाई व्यवस्थित गर्नेबारे विद्युत प्राधिकरणसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर