•  २३ भाद्र २०८१, आईतवार
  •  8:13:22 AM

विद्यार्थी हत्याका दोषीलाई कानूनी कठघरामा ल्याउने बंगलादेशकी प्रधानमन्त्रीको प्रतिबद्धता

- श्रावण ३, २०८१ मा प्रकाशित



एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बुधबार निजामती सेवा भर्ती नियमको विरोधमा जारी विद्यार्थी आन्दोलनमा ६ जनाको हत्याका लागि जिम्मेवार व्यक्तिलाई सजाय दिने प्रतिक्रिया दिएकी छिन् ।

प्रधानमन्त्री हसिनाले हत्याको निन्दा गर्दै अपराधीहरूलाई न्यायको कठघरामा ल्याउने बताइन् । ‘म हरेक हत्याको निन्दा गर्छु’, उनले बुधबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै भनिन्, ‘हत्या, लुटपाट र हिंसा गर्नेहरू जोसुकै भए पनि म उनीहरूलाई उचित सजाय सुनिश्चित गर्नेछु ।’

प्रतिद्वन्द्वी विद्यार्थी समूहहरूले एक आपसमा इँटा र बाँसको लट्ठीले आक्रमण गर्दा मंगलबार मुलुकभर भएका झडपमा ६ जनाको मृत्यु भएको थियो । साथै प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रहार गरी जुलुसलाई तितरबितर गरेको थियो ।

यो महिना सार्वजनिक क्षेत्रको नोकरीमा आरक्षणविरुद्ध हिंसात्मक प्रदर्शन शुरू भएपछि हसिनाको सरकारले अर्को सूचना नभएसम्म विद्यालय र विश्वविद्यालय बन्द गर्न भनेको छ । उनको प्रशासनमाथि वफादारहरूसँग प्रतिष्ठित सरकारी नोकरी सुरक्षित गर्न कोटा योजनाको दुरुपयोग गरेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन् ।

Comments

सम्बन्धित खवर