•  १६ कार्तिक २०८१, शुक्रबार
  •  9:26:04 AM

‘धरान उत्सव’ मा आएनन् प्रधानमन्त्री, अतिथि बन्न पुगे मेयर बालेन

- पुष २०, २०८० मा प्रकाशित



सुनसरी । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आज (शुक्रबार) देखि सुरु भएको ‘धरान डे’ उत्सवमा अतिथि बन्न पुगेका छन् । केही दिनअघि काठमाडौँ आउँदा धरान उपमहानगरपकालिकाका प्रमुख हर्क साम्पाङले बालेनलाई भेटेर निम्तो दिएका थिए ।

धरान उपमहानगरपालिकाले स्थानीय पब्लिक हाई स्कुलको मैदानमा ‘धरान डे’ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा साम्पाङ र बालेनसँगै देखिएका हुन् । उक्त कार्यक्रमका लागि धरानका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख अतिथिको रुपमा निम्तो दिएका थिए । तर, प्रधानमन्त्रीको सचिवालयले कार्यव्यस्तताले प्रधानमन्त्री आउन नभ्याउने बताएपछि साम्पाङ आक्रोशित बनेका थिए ।
साम्पाङले प्रधानमन्त्री आफूले बोलाएको कार्यक्रममा सहभागी हुन नआउने भएपछि आफ्नो कार्यकक्षबाट प्रधानमन्त्रीसँगै राष्ट्रपतिको तस्वीर समेत हटाएका छन् । उनले पुस १२ गते आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । साम्पाङ र बालेन मेयर निर्वाचित भएदेखि नै एक अर्कालाई सहयोग गर्दै आइरहेका छन् ।

‘धराने जनतालाई अपमान गर्नेलाई म सम्मान गर्छु र ? कदापि गर्दिनँ !’, उनले भनेका थिए, ‘दलविहीन भए पनि म जनताले जिताएको मान्छे हो । मैले प्रधानमन्त्रीलाई गएर निम्तो दिएँ तर म स्वतन्त्र भएकाले उहाँ यहाँ आउन मान्नु भएन ।’ प्रधानमन्त्री आउन नमानेपछि मेयर साम्पाङले काठमाडौंका मेयरलाई धरान बोलाएका हुन् । काठमाडौं र धरानका मेयर दुवै जना स्वतन्त्र निर्वाचित हुन् । उनीहरूका कामदेखि भनाइसम्मले सामाजिक सञ्जाल तताउने गरेको छ ।

Comments

सम्बन्धित खवर