टिप्ताला नाका नखुल्दा चौंरी बिक्री ठप्प, नुन खुवाउने पैसा जुटाउन समेत किसानलाई धाै –धाै
- मंसिर ५, २०८० मा प्रकाशित
ताप्लेजुङ । जङ्गलको बीचमा वर्षौदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाज मात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उनको दिन बितिरहेको छ ।
शेर्पाको पुख्र्यौली पेसा चौँरीपालन हो । तर उनी केही समय पुर्ख्याैली पेशालाई छाडेर होटल व्यसायमा लागे । उनले संखखुवासभा जिल्ला र काठमाडौँ गरी १३ वर्ष होटल सञ्चालन गरे । सो व्यवासय गर्दा आफ्नो पुर्खाले गरेको चौँरीगोठ सम्झना आइरहन्थ्यो । उनले भने, ‘होटल व्यवसाय मन परेन, बिक्री गरेर पुर्ख्याैली पेशामै फर्किन मन लाग्यो ।’
शेर्पासँग अहिले तोक्पेगोला क्षेत्रमा दुई सय ५० भन्दा बढी चौँरी छन् । चार वर्ष अगाडि एउटा चौँरी रु ७० हजारदेखि एक लाख ४० हजारसम्ममा चीनमा निर्यात हुन्थ्यो । कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै चौँरी बिक्री ठप्प भएको छ । चिनियाँ बजारमा राम्रो मूल्यमा चौँरी निर्यात हुने देखेपछि होटल व्यवसाय छाडेर चौँरीपालन लागेका शेर्पा अहिले निराश छन् । उनले भने, ‘होटल बेचेर यहाँ आइयो । गोठ विस्तार गरे । तर नाका नखुल्दा चौँरी बिक्री हुन छाड्यो ।’
फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका तेन्जिङ शेर्पा चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो । उनको समुद्र सतहबाट चार हजार तीन सय मिटर उचाइको मौवाटारमा गोठ छ । छोराछोरीलाई अंशका रूपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ४० छन् । बाह्र दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूध चिया लिएपछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।
चौँरीलाई चरन क्षेत्रमा पुर्याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरीलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म चन्द्रमा उदाइसक्छ । विगत चौँरी र बाछा बिक्रीबाट राम्रो आम्दानी हुन्थ्यो । चौँरी बिक्री नहुँदा आम्दानी पनि छैन । अहिले चौँरीलाई नुन खुवाउन समेत मुस्किल भएको शेर्पाले बताए । मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रका तेन्जिङनुपु शेर्पा अहिले चौँरीगोठमा चौँरी स्याहार्नमा व्यस्त छन् । शेर्पाले पनि विगत चार वर्षदेखि चौँरी बिक्री गर्न सकेका छैनन् ।
टिप्ताला नाका खुलाउने पहल जारी
कोभिड–१९ कारण चार वर्षयता बन्द रहेको तिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल हुँदै आएका हो । गत मङ्गलबार नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रविन साम्रा लिम्बूसहितका पदाधिकारी तथा राजनीतिक नेतृत्व र तिब्बतका पदाधिकारीबीच अनौपचारिक भेट गर्दै टिप्ताला नाका खुलाउनेबारे छलफल भएको छ । तिब्बतका तर्फबाट दिङ्जे काउन्टी जिल्लाका डिएसपी दावाछिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ सहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु छलफलमा सहभागी भएका थिए ।
फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङको समन्वयमा नाका खुलाउने विषयमा मङ्गलबार अनौपचारिक छलफल भएको हो । छलफलमा नेपालका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, सचिव युकहाङवीर हाङ्गाम ,नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा सहभागी थिए ।
दुई देशका स्थानीय पदाधिकारीबीचको भेटमा टिपताला नाका तत्काल खुलाउन पहल गर्ने, द्विपक्षीय व्यापार तथा पर्यटकीय विकास गर्ने विषयमा छलफल भएको छ । छलफलका क्रममा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिप्तालाबाट ओलाङ्चुङगोलासम्म सडक कालोपत्रका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले उल्लेख गरेको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । कोरोना महामारीपछि बन्द भएको टिप्ताला नाका हालसम्म पनि नखुलेका कारण करिब चार वर्षयता दुई देशबीच हुँदै आएको सीमा व्यापार ठप्प छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
Comments