•  ७ मंसिर २०८१, शुक्रबार
  •  8:24:07 PM

भाेजपुरका डिएसपी शरदकुमार बिरूद्ध नागरिक समाज आन्दोलित , तीन ‘हत्या’का अभियुक्त जोगाउन लागेको आरोप

- श्रावण ३, २०८० मा प्रकाशित



भोजपुर । विभिन्न तीन ‘हत्या’का अपराधीलाई जोगाउन लागेको भन्दै जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) शरदकुमार क्षेत्री विरुद्ध स्थानीय नागरिक समाज र घटनाका पीडितहरु आन्दोलित बनेका छन् ।


पछिल्लो तीन घटनाका पीडितहरुले मंगलबार भोजपुर सदरमुकाममा पत्रकार सम्मेलन गरेर डीएसपी क्षेत्री अपराधीहरुको संरक्षणमा लागेको भन्दै आत्मदाह गर्ने चेतावनी दिए । डीएसपी क्षेत्रीले मुद्दा दर्ता गर्न नमानेको, किटानी जाहेरी दिँदा पनि दोषी बचाउनमा लागेको, अपराधीहरुको दबाब र प्रभावमा काम गर्न थालेको पीडितहरुको गुनासो छ ।

bhojpur crime DSP
मंगलबार नागरिक समाज र पीडितहरुले भोजपुरमा गरेको पत्रकार सम्मेलन

जिल्लामा विभिन्न समयमा भएका आपराधिक घटनाका पीडितहरु र सरोकारवालाहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै किटानी जाहेरी दिँदासमेत डीएसपी क्षेत्रीले जाहेरी लिन नमानेको आरोप लगाए ।

टेम्केमैयुङ गाउँपालिकाको राउते खोलामा शव भेटिएका सब इन्जिनियर मन्दीप राई, आम्चोक गाउँपालिका थिदिङ्खामा गोविन्द कुँवरको आत्महत्या र भोजपुर नगरपालिकाका दीप्सन प्रधानको हत्यासम्बन्धी घटनामा डीएसपी क्षेत्री भूमिकाप्रति नागरिक समाजका अगुवा र पीडितहरुले प्रश्न उठाएका हुन् । उनीहरुले गृहमन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी मुख्यालय, नागरिक समाज र पत्रकारसमक्ष यी घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

घटना नम्बर १

गत जेठ ९ गते जिल्लाको टेम्कैमैयुङ गाउँपालिका-९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सब-इन्जिनियर मन्दीप राईको हत्या भएको भन्दै उनका बुवा डा. ईश्वरकुमार राईले दिएको किटानी जाहेरी पनि क्षत्रीले लिन बेवास्ता गरेको आरोप लागेको छ। डीएसपीले जाहेरी दर्ता गर्न नमानेपछि सरकारी वकिलमार्फत जाँदा पनि बेवास्ता गरेको राईले बताए।

पीडकहरू सबैले सल्लाह गरेर एउटै बोली बोलेको भन्दै उनले घटनापछि अपरेटर लेखर्कस्थित पदम सेन्चुरीको घरमा सकुशल पुगेको र पेटी ठेकेदार बालम राईसँगको फोन कुराकानीपछि भागेको देखिएको भन्दै छोराको मृत्यु रहस्यमय भएको उनले बताए ।

उनका अनुसार छोराको हत्यामा संलग्नहरूलाई कारबाही र सम्बन्धित व्यक्तिहरूको कल डिटेल झिकाइ अनुसन्धान गर्न असार १३ मा दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न मानेन ।

‘मेरो छोराको मृत्यु भवितब्य हो कि कर्तव्य? यति अनुसन्धान गरि पाऊँभन्दा प्रहरीले सहयोग गरेन’, राईले भोजपुर सदरमुकाममा मंगलबार भने, ‘मैले न्याय पाइनँ भने डीएसपी क्षत्रीको नाममा आत्मदाह गर्छु।’

प्रहरीले अनुसन्धान अगाडि नबढाएर उल्टै कसुरदारको मनोबल उकास्ने काम भइरहेकको उनले बताए। किटानीमा उल्लेखित व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थाल्न पनि उनले माग गरे। 

घटना नम्बर १ का पीडितको विज्ञप्ति :

Mandip Rai 1
mandip Rai 2

घटना नम्बर २

यही असार २४ गते भोजपुर नगरपालिका-१२ पैयाँपानी टक्सार निवासी १८ वर्षीय दिप्सन प्रधानको हत्या प्रकरणमा प्रहरीले मुद्दा कमजोर बनाएर अनुसन्धान गर्न खोजेको पीडित पक्षको आरोप छ। गाउँबाट सिकार खेल्न जाऊँ भनेर ६ जनाले हत्या गरेको दाबी परिवारको छ। तर आरोपितमध्ये सुमन श्रेष्ठका भाइ डीएसपी क्षत्रीका भान्से भएकोले प्रहरी पनि उक्त घटनालाई ढाकछोपमा लागेको पीडितहरुले बताएका छन्। 

एकै जनालाई सबैको अपराध थोपरेर अन्य अभियुक्तलाई उन्मुक्ति दिन खोजेको दाबी दिप्सनका बुवा देवीप्रसाद प्रधानले गरेका छन्। उनले ज्यानसम्बन्धी कसुर, हातहातियार खरखजानासम्बन्धी र वन्यजन्तुको चोरी शिकारी गरेको अभियोग लागेकाहरुलाई डीएसपी थापाले उन्मुक्ति दिन खोजेको बताए। उता जिल्लाको दक्षिणी आम्चोक गाउँपालिका-३ थिदिंखा निवासी गोविन्द कमरले छिमेकीको कुटपिटका कारण आत्माहत्या गरेको भन्दै आफन्तले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न खोज्दा डीएसपी क्षत्रीले नमानेको परिवारले जनाएको छ।

छिमकी  पवित्रा राईको घरमा कुटपिट गरी गत असार ८ गते  बायाङ प्रहरी चौकीमा मिलापत्रपछि फर्किएका कमरले कुटाईको पीडा र सामाजिक प्रतिष्ठामा आँच पुगेकोले आत्महत्या गरेको परिवारको दाबी छ। घटनाबारे उजुरी दर्ता गर्न जाँदा प्रहरी निरीक्षकले हप्कीदप्की गरेको परिवारजनले जनाएका छन्। उक्त घटनामा अहिलेसम्म जाहेरी दर्ता नभएकाले प्रहरी पनि अपराधी जोगाउन लागेको उनीहरुको भनाइ छ। यस प्रकरणमा तत्काल आत्महत्या दुरूत्साहनको जाहेरी दर्ता गरीदिन परिवारजनको माग छ। 

‘घटना पछि पटक पटक जिल्ला प्रहरी कार्यालय भोजपुर गएर किटानी जाहेरी दिन खोज्दा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरदकुमार क्षेत्रीले बेवास्ता गर्दै छलफलसमेत गर्न नमानेको र जाहेरी दर्ता समेत नगरेकोले हामी पिडित पक्षले न्याय पाउन सकेका छैनौ । प्रस्टसँग आत्महत्या दुरुत्सहान भएको देखिएपनि जिल्ला प्रहरी कार्यलय भोजपुरले मुद्दा दर्ता गर्न नमिल्ने भनी आलटाल गरेकाले कानूनी प्रक्रियाको लागि अनुरोध गर्दछु’, रिताले विज्ञप्तिमा लेखेकी छन् ।

घटना नम्बर २ का पीडितको विज्ञप्ति :

bhojpur police pidit preesssmeet 4

घटना नम्बर ३

त्यस्तै टक्सारका दीप्सन प्रधानको असार २२ गते अखुवा खोलामा भएको हत्यामा संलग्नहरूलाई उन्मुक्ति दिन खोजेको भन्दै उनका परिवारले ध्यानाकर्षण गराएको छ ।

‘पैयाँपानीका सुमन श्रेष्ठले सामान पुर्‍याउन जाऊँ भनी लिएर गएको र खोलामा पुगेपश्चात मणिकुमार प्रधान, उमेश कार्की, निरज कार्की, रोजिश कार्की आम्तेकका सुमन श्रेष्ठसमेतले भरूवा बन्दुकले हानी बर्बरतापूर्क हत्या गरिएको हो । वास्तविक सबै दोषीहरूलाई कारबाही नगरी एकजनालाई मात्र मुख्य दोषी बनाई उन्मुक्ति दिन खोजेर घटना तोडमोड गर्न खोजिएको छ’, बुबा देविप्रसादले विज्ञप्तिमा लेखेका छन् ।

घटनामा संलग्न सुमनको भाइ विनम डीएसपीकै भान्से भएकाले सो घटनालाई किटानी जाहेरी दिँदासम्म अनुसन्धानमा जिम्मेवार नदेखिएको उनको दाबी छ ।

घटना नम्बर ३ का पीडितको विज्ञप्ति :

Devi Pardhan

नागरिक समाज भोजपुरका संयोजक परशुराम तिवारीले अहिलेसम्म जिल्लामा आएका डीएसपीमध्ये अहिलेका क्षेत्रीबाट नागरिकले उल्टै असुरक्षित महसुस गरेको टिप्पणी गरे ।‘अहिलेसम्म यस्ता घटनाहरूमा कोही प्रहरी प्रमुखले यस्तो गैरजिम्मेवारपूर्ण काम गरेको थिएन । यी घटनाहरूको बेवास्ता उनको सरासर ज्यादती हो’, तिवारीले भने ।

पीडितसँग पटकपटक नागरिक समाज, पत्रकार र सरोकारवालाहरू डेलिगेसन जाँदा क्षेत्री केही सुन्न नचाहने पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले बताए ।उनले भने, ‘घटनाको यथार्थ विवरण जानकारी गराउँदा उहाँ सुन्नै चाहनुहुन्न । प्रमाण छैन भनेर मात्र पन्छिनुहुन्छ । अनुसन्धान नै गर्न नखोजेपछि कहाँबाट भेटिन्छ प्रमाण ?, राई प्रश्न गर्छन् ।

११ महिनाअघि रसुवाबाट सरुवा भएर आएका डीएसपी क्षेत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पीएसओसमेत थिए । प्रचण्ड यसअघि प्रधानमन्त्री हुँदा र नहुँदा दुवैबेला उनी पीएसओ छँदा मालदार कार्यालयमा सरुवा जाने र सेटिङ मिलाउने गरेको भन्दै विवादित बनेका थिए ।

Comments

सम्बन्धित खवर