•  ७ मंसिर २०८१, शुक्रबार
  •  8:17:13 PM

बराहक्षेत्र मन्दिर दर्शन गर्न आउने पर्यटकहरूकाे घुइचाे , के के छन सुविधा ?

- श्रावण २, २०८० मा प्रकाशित



इटहरी । प्रशिद्ध धार्मिक क्षेत्र बराह क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बाक्लिएको छ । बर्खाका कारण प्रतिकुल यात्राकाबीच पनि थुप्रै भक्तजनहरु बराह क्षेत्रको दर्शनका लागि पुगिरहेका छन् । नेपालकै प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको बराह क्षेत्र सुनसरी जिल्लाको धरानबाट चतरा हुँदै झण्डै ७ किलोमिटर उत्तरमा अवस्थित छ ।

कोका खोला र कोशी नदीको संगममा अवस्थित यो मन्दिरलाई हिन्दु र किरात धर्म मान्नेहरुको सबै भन्दा पुरानो तिर्थस्थल मानिन्छ । मानिसहरुले खोलामा छेउमा पूजा गर्ने स्नान गर्ने पितृ उद्दारका लागि श्राद्ध गर्ने आदि धार्मिक तथा सांस्कृतिक कर्मकाण्डहरु पनि गर्ने गरेका छन् ।
मान्दिरमा पूजा गर्न नियमित रुपमा भक्तजनहरुको भीड लाग्ने गरेको छ । यस मन्दिरमा विषेशगरी शनी दशा लाग्नेहरुको पूजा आरधना गरी ग्रह शान्तिसमेत गरिन्छ ।

मन्दिर दर्शन गर्न भारतबाट पनि थुप्रै भक्तजनहरु आउने गर्दछ । ंआफ्नो मनोकामना पूरा भएसँगै चिताएको कुरा पूरा हुने आस्था विश्वासका साथ मानिसहरु आउने गर्दछन् । मोरङको सुनवर्षी नगरपालिकाबाट पूजा गर्न पुगेकी झुमा बस्नेत बराहक्षेत्र पुगिन् । उनी तेश्रो पटक त्यहाँ पुगेकी हुन् । मन्दिरप्रति पूरा आस्था र विश्वास भएकोले उनले भाकल गरेको सबै मनोकामना पुरा भइरहेको उनले बताइन् । ‘यो मन्दिर निकै पुरानो हो र मन्दिर दर्शन गर्न आउँदा हरेक पटक उतिकै आनन्दानुभूति हुने गरेको छ,’ उनले भनिन् ।

प्राचीनकालदेखि पृथ्वीको सृष्टी भएको ठाँउ भनी मानिएको बराह क्षेत्रको शनी र गणेश मन्दिर भने जीर्ण भइसकेको त्यहाँका गुरु योगेश भण्डारीले बताए । उनले शनी र गणेश मन्दिरमा पुगेर माथा टेका मात्र गरेपनि धेरै ग्रह दशाहरुबाट मुक्त हुन सक्ने उनले बताए । त्यही भएर मानिसहरु बराह क्षेत्रमा आउने गरेको र मन्दिर सञ्चालनका लागि सहयोग समेत गर्ने गरेको उनले बताए ।

नगरपालिकाले केही हदसम्म मन्दिरको लागि सहयोग गर्ने गरेको छ । बराह क्षेत्रको भौतिक सुरक्षा अहिले पनि चुनौतीको विषय बनेको छ । तलबाट बग्ने कोशी नदीले बराह क्षेत्र तर्फ नै कटान गरिरहेको छ भने उत्तर बग्ने कोकाहको बगर पनि फैलिदै गएको मन्दिरको सुरक्षा जोखिम बढेको हो । यद्यपि सुरक्षाकर्मीहरुले निरन्तर कटान नियन्त्रण गर्ने कार्यमा सहयोग गरिरहेको उनले बताए ।

मन्दिरमा दैनिक सयौं भक्तजनहरु पुग्ने गरेका छन् । कहिलेकाँही पाइला टेक्ने ठाउँसमेत नहुने गरी भक्तजनहरुको ओइरो लाग्ने गरेको उनले बताए । तर आएका पाहुनाहरुलाई सहज रुपमा बस्ने बासस्थान (धर्मशाला)को उचित प्रबन्ध छैन । दुई ओटा धर्मशालामध्ये एउटा ठिकै अवस्थामा सञ्चालित छ भने अर्कोको सञ्चालन सन्तोषजनक छैन ।मन्दिर परिसरमा जुद्धशमशेरको पालामा बनाइएको पानीकोे ट्यांकी अहिले सुकेको छ । फिल्टर भएर आउने पानीको धाराबाट पानी चुहिन छोडेको धेरै भइसकेको छ ।

धारा मर्मर्त र ट्यांकी सञ्चालन जस्ता साधारण कामका लागि पनि स्थानीय सरकारले ध्यान नदिएको बराह क्षेत्रका स्थानीयहरुले गुनासो गरेका छन् ।
मानिसहरुलाई मन्दिर आवतजावत गर्न यस पटक स्थानीय सरकारले सडक स्तरोन्नति गरिदिएको छ । तर, बाटोमा बाढी र पहिरोले गर्दा अबरोध पु¥याइरहेको छ । समयमा अवरोध हटाउने तर्फ आवश्यक ध्यान पुगेको छैन ।

वि. सं. १९९० को भुकम्पले मन्दिर भत्किएको थियो । लगतै तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले १९९२ मा मन्दिरको जीर्णाद्धार गरी ममर्त गराएका थिए । अहिले सोही मन्दिर यथावत रुपमा सञ्चालित छ । मन्दिर परिसरमा १५०० वर्ष भन्दा अगाडिका पुराना मूर्तीहरु समेत देख्न पाइन्छ ।
बराह क्षेत्रको बारेमा ब्रम्ह पुराण, बराह पुराण, स्कन्द पुराणलगायत अन्य धार्मिक ग्रन्थहरुमा चर्चा गरिएकोले यसलाई पौराणिक तीर्थस्थलको रुपमा समेत चिनिन्छ । महाभारत र महाकाव्यहरुमा पनि यसका बारेमा उल्लेख गरिएको छ ।

बराह क्षेत्रमा बिष्णु भगवानले बराह स्वरुपमा अवतार लिएको विश्वास गरिएको छ । यहाँ लक्ष्मी, पञ्चायन, गुरुबराह, सूर्यबराह, कोकाबराह र नागेस्वरलगायत नौं वटा मन्दिरहरु छन् । भग्वान विष्णुले बराहको अवतार लिएर पातालमा भासिदैं गरेको पृथ्वीलाई आफ्नो दाँतले उचालेर डुब्नबाट जोगाएको र त्यसपछि आफ्नी पत्नी लक्ष्मीसँग हिमालय र पहाडको काख कोशी नदिको किनारमा आएर बसेकोले बराह क्षेत्र नामले कहलिएको धार्मिक विश्वास रहिआएको छ ।

Comments

सम्बन्धित खवर