•  ९ मंसिर २०८१, आईतवार
  •  7:09:36 AM

सुन्दरहरैंचाकाे जनता माविबाट २० जना सहित माेरङबाट ११६ जना नक्कली परीक्षार्थी पक्राउ

- चैत्र २३, २०७९ मा प्रकाशित



इटहरी । मोरङका विभिन्न तीन विद्यालडयबाट एसईई परीक्षा दिइरहेका ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा ४४ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

बुधबार मोरङको ग्रामथानस्थित सरस्वती माविमा एक युवतीलाई नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेपछि प्रहरी र मोरङको शिक्षा विकास तथा समन्वय ईकाइले परीक्षामा निगरानी बढाएको छ । प्रहरीका प्रवक्ता दाहालका अनुसार प्रहरीले बुधबारबाटै परीक्षा भइरहेको केन्द्रमा सुक्ष्म ढंगबाट आफ्नो निगरानी बढाउने क्रममा नक्कली विद्यार्थी पक्राउ गरेको हो ।

यससँगै परीक्षा दिन लगाउन गिरोह नै सक्रिय भएको हुनसक्ने आशंकाबाट प्रहरीले अनुसन्धान सुरू गरेको उनले बताए । बुधबार खुल्लातर्फ विज्ञानको परीक्षामा नक्कली विद्यार्थी पक्राउ परेसँगै बिहीबार सामाजिक शिक्षाको परीक्षा दिने क्रममा यति ठूलो संख्यामा नक्कली विद्यार्थी पक्राउ परेका हुन् ।

मोरङका शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख टंक गौतमले परीक्षा दिएका र पक्राउ परेकालाई कानुनी कारबाही हुने जानकारी दिए । पक्राउ गरिएका अधिकांश विद्यार्थीको प्रवेश पत्रमा नाम सही भएपनि फोटो उप्काएर नक्कली विद्यार्थीले परीक्षा दिँदै आएको खुलेको उनले बताए ।

Comments

सम्बन्धित खवर