•  ७ मंसिर २०८१, शुक्रबार
  •  11:22:19 PM

युकेकाे बजार सम्म पुग्छ खाेटाङमा उत्पादित कठुवा

- चैत्र १२, २०७९ मा प्रकाशित



खोटाङ । खोटाङमा चदरा व्यवसाय लोपोन्मुख बनिरहँदा चदरा व्यवसायीले उत्पादन गरेको काठका सामानको माग भने बढ्दो छ । चदरा व्यवसाय सम्वन्धी सीप भएका पुस्ताको अन्त्या हुन लाग्दा काठका सामानको माग भने घटेको छैन । चदरा व्यवसाय सञ्चालन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका चन्द्रबहादुर बिक र ओमराज बिकलाई काठका सामान बनाउन भ्याइनभ्याई छ ।

 बिकद्धयले खोलाको पानीले मोटर घुमाएर दारको काठबाट ठेका, ठेकी, कठुवा, तोङबाको भाँडो, दुधेरी, दही जमाउने भाँडो, कुरुवा, हर्पे, बटुका, स्ट्रे, गिलास, गम्भु लगायतका सामान उत्पादन गर्दैआएका छन् । उत्पादित स–साना कठुवा (टुक्से) काठ्माडौंदेखि यूकेसम्म पुग्ने गरेको छ । 

    चन्द्रबहादुर काका र ओमराज भतिजा हुन् । उनीहरुले जालपाको कादेलस्थित लुम्झु खोलाको किनारमा चदरा उद्योग चलाइरहेका छन् । बिकद्धयले बिक्रीका लागि काठमा सामान तयार गर्न पर्दैन । बिक्रीका लागि बजार खोज्दै हिँड्न पर्दैन । काकाभतिजलाई ‘अर्डर’ अनुसारको सामान बनाउ नै भ्याइनभ्याइ हुने गरेको छ । चदरा व्यवसायबाट मासिक २५(३० हजार आम्दानी हुने गरेको ओमराज बताउँछन् । 

    जालपाका बिक परिवारको पुर्खौली पेशा हो चदरा व्यवसाय । खोटाङमा हालसम्म चदरा व्यवसायलाई बचाउने सम्भवतः बिकद्धय मात्र बाँकी रहेको जालपाका वडाध्यक्ष दानबहादुर राई दावी गर्छन् । बिकद्धयले उत्पादन गरेका काठका कतिपय भाँडाकुँडा दिक्तेलबजारका कोसेली घर पशलमा विक्रीका लागि राख्ने गरिएको छ ।

    यद्यपी, उनीहरुले उत्पादन गरेको काठका अधिकांश सामान युके पुग्ने गरेको छ । युकेमा बस्ने किरात समुदाय उनीहरुको मुख्या ग्राहक हुन् । घुमन्ते चदरा व्यवसायीले विभिन्न ठाउँमा पुगेर काठका सामान बनाउँछन् तर जालपामा उत्पादित सामान ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको छ ।

सजिलो र परपर्दो पेशा

 चन्द्रबहादुर र ओमराजले बाल्यवस्थामै बाबुबाजेबाट चदरा व्यवसाय सम्वन्धी सीप सिकेका हुन् । तर चन्द्रबहादुर मजदुरीको कामका लागि भारतसम्म पुगे । भवन निर्माण सम्वन्धी काम सिके । गाउँ फर्किएर पनि भवन निर्माण सम्वन्धी काम गरे । उमेर ढल्किदै गएपछि र भारी काम गर्न असहज हुन थालेपछि उनले दुई वर्षदेखि चदरा व्यवसायलाई नै निरन्तरता दिएका हुन् ।

    ओमराजले पनि १४/१५ वर्षकै उमेरमा काठका भाँडाकुँडा बनाउन सिकेका थिए । पैसा कमाउने सपना बोकेर बैदेसिक रोजगारीका सिलसिलामा मलेसिया पुगे । विदेशमा गरेको दुःखले उनलाई आफ्नै गाउँमा पसिना बगाउने उत्प्रेरणा मिल्यो । चार वर्षदेखि ओमराज लम्झु खोलामा छाप्रो बनाउर चदरा व्यवसाय चलाउन तल्लिन छन् । 

    चदरा व्यवसायीले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर पुगेर दारका काठ ल्याउने गरेका छन् । सामान बनाउने दारको रुखलाई प्रतिवटा १०/१५ हजारदेखि २४/२५ हजारमा खरिद गरेर ल्याउने गरिएको छ । उनीहरु दिनभर खोलामा बनाइएको छाप्रोभित्र छिनो प्रयोग गरेर काठका भाँडाकुँडा खोपिरहेका हुन्छन् । खाना त्यही बनाएर खान्छन् । साँझ परेपछि मात्र घर जाने गरेका छन् ।

Comments

सम्बन्धित खवर