भोलि राष्ट्रपति चुनाव : यस्तो छ तयारी
- फाल्गुन २४, २०७९ मा प्रकाशित
काठमाडौं । भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ ।
नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन् । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित बनाउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।
राष्ट्रपति चुनावमा सङ्घीय संसद्का ३३४ मध्ये ३३१ र प्रदेशसभा सदस्य ५५० मतदाता छन् । सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १४९ र प्रदेशसभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २७५ मतभार ल्याउनु पर्छ ।
सङ्घीय सांसद मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका छन् । चितवनको निर्वाचन क्षेत्र नं २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिन अघि निधन भएको थियो ।चुनावका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन् । चुनावलाई केन्द्रीत गरी काठमाडौँमा सुरक्षा सर्तकता उच्च पारिएको छ । यसपालि राष्ट्रपति चुनावमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुँदैछ ।
उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । राष्ट्रपति पदमा नौ दलीय गठबन्धनकातर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई आज बिहान ११ बजेसम्ममा काठमाडौँ आइपुग्न निर्देशन समेत दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिंदैछ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments