•  ७ मंसिर २०८१, शुक्रबार
  •  5:30:05 AM

चिराइतोको मूल्य बढेपछि ताप्लेजुङका किसानहरू हर्षित

- फाल्गुन १, २०७९ मा प्रकाशित



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का केसिङ लिम्बु चिराइतोले राम्रो मूल्य पाउन थालेपछि उत्साहित भएका छन् । कोरोनापछि घट्दो क्रममा रहेको चिराइतोको बजार मूल्य यसपटक भने बढ्न थालेको छ । त्यसैले यस सिजनमा थप जग्गा भाडामा लिएर भए पनि चिराइतो खेती गर्ने उनको योजना छ ।

लिम्बूले कुनै समय एकै सिजनमा ६५ मनसम्म चिराइतो बिक्री गर्थेे । कुल एक सय ६८ रोपनी जग्गामा चिराइतो खेती विस्तार गरेका उनले यसबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । ‘प्रतिमन २१ हजारका दरले एउटा सिजनमा ६५ मन चिराइतो बिक्रीबाट रू १३ लाख ६५ हजारसम्म आम्दानी गरें’, उनले भने ।

कोरोना महामारअघि ताप्लेजुङ, पाँचथर, इलाम, तेरथुम, सङ्खरसभा भोजपुरलगायत जिल्लामा उत्पादन भएको चिराइतो टिप्पताला नाका हँुदै चिनियाँ बजारमा निर्यात हुन्थ्यो । टिप्पताला नाकासम्म हेलिकोप्टरबाट चिराइतो ढुवानी हुन्थ्यो । कोरोना महामारीमा उक्त नाका बन्द भएपछि चिराइतोको कारोबार ठप्प बनेको हो ।चार वर्षसम्म चिराइतोको बजार ठप्प भएसँगै लिम्बूले चिराइतो खेती नै छोडेका थिए ।

 ‘चार वर्षपछि अहिले चिराइतोले राम्रो बजार मूल्य पाएको अवस्था छ’, व्यवसायी गोविन्द बरालले भने, ‘चार वर्षअघि प्रतिमन रू पाँच हजारमा झरेको चिराइतोको भाउ अहिले ३० हजारसम्म खरिदबिक्री भइरहेको छ ।’ उनका अनुसार पछिल्लो समय भारतीय बजारमा चिराइतोको माग बढ्न थालेको छ ।मूल्य बढेसँगै व्यवसायीहरु चिराइतो सङ्कलन गर्न गाउँ–गाउँ पुगन थालेका छन् । चिराइतो खोजी गर्दै गाउँ–गाउँमा व्यापारी आएसँगै लिम्बु जस्ता किसान फेरि चिराइतो खेतीमा फर्कन थालेका छन् । कोरोनाका कारण नाका बन्द हुँदा घरमै थन्क्याएर राखेको चिराइतो अहिले धमाधम बिक्री हुन थालेको छ ।

हिमाली भेगमा मात्र उत्पादन हुने चिराइतो पाखा बारीमा बीउ लगाएपछि करिब ३० महिनापछि बिक्रीयोग्य हुने फक्ताङलुङ गाउँपालिका–४ इखाबुका चिराइतो किसान धनबहादुर लिम्बूको भनाइ छ । गाउँघरमा ज्वरो तथा रुघाखोकीका बिरामीलाई चिराइतो खुवाउने चलन छ ।आर्थिक वर्ष २०७८-८९ मा पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङ निमित्त प्रमुख एवम् सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले बताए । 

छुट पुर्जीका लागि प्रतिकेजी रू १५ राजस्व जम्मा गर्नुपर्दछ । पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन हुँदा ८७ हजार राजस्व जम्मा भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आर्थिक वर्ष २०७७-७८ मा १६ हजार तीन सय केजी चिराइतो सङ्कलनबाट रू दुई लाख ४४ हजार पाँच सय बढी राजस्व सङ्कलन भएको छ ।

Comments

सम्बन्धित खवर