आजदेखि राष्ट्रिय प्रसारणलाइनमा जोडिँदै सोलुखोला जलविद्युत
- माघ २७, २०७९ मा प्रकाशित
इटहरी । मुलुकको जलविद्युत उत्पादनमा प्रदेश १ को योगदान उच्च रहँदै आएको छ । यहीक्रममा ८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत आयोजना शुक्रबारदेखि राष्ट्रिय प्रसारण प्रणाली जोडिने भएको छ ।
बिहीबार सबै खालका परीक्षण सकेर शुक्रबारबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागिएको हो । साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले व्यवसायिक उत्पादन सुरु गर्नका लागि भने केही दिन लाग्ने बताए । ‘ शुक्रबारदेखि राष्ट्रिय ग्रीडमा जोड्दैछौं । ग्रीडमा जोडेपछि पनि प्राधिकरणले परीक्षण गर्छ,’ उनले भने, ‘अहिले प्राधिकरणको टोली आयोजनास्थलमा नै छ । ५÷६ दिनमा व्यवसायिक उत्पादन सुरु हुन्छ । हाम्रो बिजुली शुक्रबारदेखि प्रणालीमा चाहिँ जान थाल्छ ।’
विद्युत प्राधिकरणका एक इन्जिनियरका अनुसार, करिब दुई साताभन्दा पहिले नै आयोजनाले व्यवसायिक उत्पादन सुरु गर्न सक्थ्यो । तर स्थानीयले अवरोध गरेका कारण प्रसारणलाइनको काम रोकियो । प्रसारणलाइनमा काम गरिरहेका केही कामदारलाई स्थानीयले रड, खुकुरी लगायतका हतियारले हानेर घाइते समेत बनाइदिएका थिए । जसका कारण १५ दिन आयोजनाको काम नै रोकिएको थियो । अहिले स्थानीयको समस्या समाधान भइसकेको दाबी गरिएको छ ।
आयोजनाले तीन महिना लगाएर परीक्षण गरेको हो । कात्तिक अन्तिम साताबाट परीक्षण सुरु गरिएको थियो । यो आयोजना प्रणालीमा जोडिँदा विद्युत प्राधिकरणलाई लोड व्यवस्थापनमा केही सहज हुने अपेक्षा गरिएको छ । हिउँदे बर्षा नभएर २० प्रतिशत उत्पादन घट्दा प्राधिकरणलाई व्यवस्थापनमा हम्मेहम्मे परेको छ । अहिले दैनिक ३ करोड युनिट विद्युतको माग छ । भारतबाट १ करोड युनिट आयात गर्दा पनि नपुगेको दैनिक पिक आवर (बिहान बेलुकीको उच्च माग हुने समय) मा औद्योगिक क्षेत्रको बिजुली काटिदिने गरेको छ । प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार १० बर्षयताकै तुलनात्मक रुपमा सुक्खायाम लम्बिदा नदीमा पानी घट्दा उत्पादनमा असर परेको हो । यो आयोजनाले ३७ मेगावाट तत्काल बिजुली उपलब्ध गराउने भएकाले केही सहज हुने घिसिङले बताए ।
यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो । आयोजना सोलुखुम्बुमा निर्माण भएको छ । हेडवक्र्स सोलु दुधकुण्ड नगरपालिका र पावर हाउस (विद्युत गृह) थुलुङ दुधकोसी गाउँपालिकामा रहेको छ। सतही प्रकृतिको विद्युत गृह निर्माण गरिएको छ । आयोजनाले सोलुखोलाको पानी प्रयोग गरि विद्युत उत्पादन गर्नेछ । आयोजनाको ग्रस हेड ६१३.२० मिटर र नेट हेड ५९८.०९ मिटर रहेको छ। ठाडो र तेस्रो गरि १८६४ मिटर पेनस्टक पाइप राखिएको छ ।
१२ किमी १३२ केभी प्रसारणलाइन निर्माण गरेर विद्युत प्राधिकरणको लमाने सबस्टेसनमा जोडिएको छ । यो आयोजनाले बार्षिक ५२०.२० गिगावाट घण्टा (सुक्खा १००.२७ गिगावाट आवर र बर्खामा ४१९.९३ गिगावाट आवर) उत्पादन गर्न सक्छ । २०१७ मा यो आयोजना निर्माणको ठेक्का इटालियन कम्पनी सिएमसी दि रिभेन्नाले पाएको थियो । सम्झौता अनुसार काम नगरेको भन्दै ठेक्का तोडियो । त्यसपछि पुनः कम्पनी नयाँ ठेक्का आह्वान गर्यो । उक्त ठेक्का सीई कन्स्ट्रक्सन पायो । उक्त कम्पनीले निर्माण सम्पन्न गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सहवित्तीयकरणमा विभिन्न बैंक तथा वित्तिय संस्थाले यो आयोजनामा लगानी गरेका छन् । ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत इक्विटीबाट जुटाइएको छ । आयोजनाको साधरण लगानी फिर्ता ८.०२ बर्षमा हुनेछ। १३ करोड ८० लाख रुपैयाँ प्रतिमेगावाट लागत रहेको छ । यो आयोजना स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरेको अहिलेसम्म ठूलो आयोजना हो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments