•  ९ मंसिर २०८१, आईतवार
  •  12:24:32 AM

पूर्वाधार बिकाशले नछाएपछि रित्तिँदै उत्तरी मोरङका गाउँ

- मंसिर २०, २०७९ मा प्रकाशित



इटहरी । मोरङको लेटाङ–७ वारंगीका ७१ वर्षीय बुद्धवीर लिम्बुको परिवार यही हिउँदमा बसाइँ सर्ने सुरसारमा छ । सुगम जिल्लाको विकट गाउँ वारंगीमा अहिलेसम्म पर्याप्त सञ्चार, विद्युत र यातायात, शिक्षा,स्वस्थ्य, सडक जस्ता आधारभूत सुविधा पुग्न सकेको छैन । यही पीडाले गर्दा लिम्बुको परिवार सुविधाको लागि तराईमा बसाइँ सर्ने निर्णयमा पुगेको हो ।

उनका छोरा वैदेशिक रोजगारीको सिलसिलामा पाँच वर्षदेखि दुबईमा छन् । उनी यही पुुस महिनामा घर फर्कने तयारीमा रहेको उनले बताए । छोरो आएपछि लिम्बुको पाँच जनाको परिवार तराईमा सर्ने योजनामा छ । प्रदेश १ को राजधानी समेत रहेको मोरङ जिल्लालाई सामान्यतः सुगमका रूपमा लिइन्छ । तर, यही जिल्लाका केही स्थानहरूमा पूर्वाधारको चरम अभाव छ । रमितेका अधिकांश क्षेत्रमा विद्युतीकरण हुन सकेको छैन ।

लेटाङ–७ वारंगीका पूर्ववडाध्यक्ष नरेन्द्रकुमार लिम्बुका अनुसार लेटाङ हुँदै ६ नम्बर बुधबारे जोड्ने सडक भर्खरै सडक निर्माणको चरणमा छ । त्यो पनि पुल नहुँदा र बाटो राम्रो नहुँदा बर्खाको बेला गाडी जाने अवस्था छैन । खानेपानीको समस्या पनि उस्तै छ । त्यसैले बर्सेनि मानिसहरूले गाउँ छाडिरहेका छन् ।

लिम्बु भन्छन्, ‘यस क्षेत्रको मानिस सुविधा खोज्दै अन्यत्र जाने क्रम निकै बढेको छ । बसाइँसराइ रोक्ने प्रयास अहिलेसम्म कतैबाट भएको देखिँदैन । खासमा यस क्षेत्रमा सडक, बिजुली, खानेपानी र स्वास्थ्यको प्रबन्ध गर्न सके बसाइँसराइ रोकिने थियो ।’ चुनावका समयमा मात्र भोट माग्न गाउँ पुग्ने उम्मेदवार जितेपछि गाउँमा अनुहार नदेखाउने कारण त्यस क्षेत्रका नागरिक नेताको व्यवहारदेखि आजित उनले बताए ।
मोरङको विकटता झेलिरहेको ठाउँ वारंगी मात्र होइन । ै जिल्लाकै सिंहदेवी, याङशिलाको समस्या पनि यस्तै छन् । राज्यको आँखा नपर्दा यी ठाउँ पूर्वाधारमा पछि परेका छन् । सुगम जिल्लाका यी दुर्गम गाउँहरु मोरङको निर्वाचन क्षेत्र नं १ मा पर्ने केराबारी, मिक्लाजुङ गाउँपालिका साथै लेटाङ नगरपालिकामा पर्छन् । तत्कालीन सिंहदेवी पुरै गाविस अहिले केराबारी गाउँपालिका वडा नम्बर २ मा परिणत भएको छ । यसको केन्द्र साबिकको केराबारी गाविस कार्यालय हो । विषेशगरी केराबारी गाउँपालिका १ र २ नम्बर वडा धनकुटा जिल्लासँग सिमाना जोडिएको विकट पहाडी क्षेत्रमा पर्छ ।

स्थानीयवासीका अनुसार पहाडी भू–बनोटले चारैतिर घेरिएको मोरङको सिंहदेवीमा उब्जनीका लागि खेती गर्ने स्थानको अभाव हुँदा त्यस क्षेत्रका बहुसंख्यक जनता मर्कामा छन् । पछिल्लो समय भने स्थानीय तह, प्रदेश र संघ सरकारले सडक, बिजुली, खानेपानी निर्माणमा केही बजेट छुट्याएर पूर्वाधार निर्माणको काम धिमा गतिमा अघि बढेको छ । तर, त्यो पर्याप्त नभएको स्थानीय रुद्र जमरकट्टेलले बताए ।
जमरकट्टेलका अनुसार अहिले पनि केराबारी गाउँपालिकाको केन्द्र पुग्न सिंहदेवीका बासिन्दालाई ३ घण्टा पैदल नहिँडी सुख छैन । जिल्लाकै विकट मानिने यी क्षेत्र सबै पहाडी इलाकामा पर्छन् । साबिकका रमिते खोला, पाटीगाउँ, सिंहदेवी, भोगटेनी र वारंगी क्षेत्रका मानिस सुविधाको खोजीमा अन्यत्र सर्ने क्रम बढेको छ । तर, त्यस क्षेत्रबाट वार्षिक कति मानिस सरेर गए भन्ने तथ्यांक कसैसँग छैन ।

‘हामी पनि बुझ्दै छौँ,’ लेटाङ नगरपालिकाकी उपमेयर कृष्णाकुमारी निरौलाले भनिन्, ‘बसाइँसराइको मात्र बढेको भन्ने कुरा आएको छ, यसका कारण र व्यवस्थित लगत राख्ने कार्यमा अब जुट्ने छौँ ।’ स्थानीय बासिन्दा भने नेताहरुप्रति क्रुद्ध छन् । ‘प्रत्येक चुनावताका नेताहरु यस क्षेत्रको विकास गर्छौं भनेर आउँछन् । जितेर गएपछि विकास त के फर्केर समेत आउँदैनन्,’ स्थानीय सुवास लिम्बु भन्छन्, ‘हामीले नेताहरुको भरोसा गरेका छैनौँ । यति हो हाम्रो क्षेत्रको विकासका लागि सोचिदिए पुग्छ ।’

सुगम जिल्ला भनेर राज्यले पनि यस क्षेत्रमा बजेट विनियोजनमा ध्यान नदिँदा पहाडी इलाकाका यी क्षेत्र विकासमा लामो समयदेखि पछाडि परेको सुवासको ठ्म्याइ छ । साबिकका सिंहदेवी, रमिते खोला, पाटी गाउँ, भोगटेनी र वारंगीमा आदिवासी जनजातिको ज्यादा बसोबास छ । जिल्लालाई सुगम भनिए पनि यतिका वर्षसम्म सञ्चार, विद्युत् र यातायातले जोड्न नसक्दा आफूहरूलाई दुरदराजको बासिन्दाजस्तो महसुस हुने स्थानीय द्रोण मगर बताउँछन् । ‘कुनै समस्या पर्दा यातायातका लागि सडक चाहिने रहेछ । न यहाँ सडक सुविधा छ, न त बिजुली नै,’ मगरले दुःख पोखे । केराबारी गाउँपालिकाको कुल जनसङ्ख्या ३० हजार ४ सय ३१ छ । पहाडी इलाका भएकाले साबिकको सिंहदेवी, याङशिला र पाटीगाउँका बासिन्दाको मुख्य आम्दानीको स्रोत अम्रिसो हो ।

Comments

सम्बन्धित खवर