•  १० मंसिर २०८१, सोमबार
  •  6:01:35 AM

झापाका यि पाँच नदी जहाँ वर्षै पिच्छे आस्वासन आउछ पुल आउदैन , दलकाे एजेण्डामा पर्छ ,खाेलामा छैन

- मंसिर २, २०७९ मा प्रकाशित



झापा । हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बनेको झापाका अधिकांश नदीहरूमा पक्की पुल र झोलुङ्गे पुल नबन्दा स्थानीयले वर्षौँदेखि सास्ती झेल्दै आएका छन् । यसपटक नदीहरूमा पुल बनिन्छ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारहरूले स्थानीय मतदाताहरूलाई एउटै आश्वासन दिँदै आएको र तर, समस्या जस्ताको त्यस्तै रहेको स्थानीयवासी बताउँछन् ।

विशेषगरी झापाको दक्षिणी क्षेत्र भएर बग्ने मेची, बिरीङ, कनकाई, रतुवा र निन्दा नदी तर्न स्थानीयले बर्खायाममा जोखिमपूर्ण र हिउँदमा बाँसे पुलको सहारामा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।साथै स्थानीयले डुङ्गा वा बाँसे पुल चढ्दा चर्को शुल्क तिर्नुपर्ने समस्या पनि त्यस्तै छ । भारतीय सीमा नाका जोडिएको कचनकवल गाउँपालिका–५ पाठामारी भएर बग्ने मेची नदीमा ६ वर्षदेखि निर्माणाधीन झोलुङ्गे पुल अलपत्र छाडेर ठेकेदार बेपत्ता छन् ।

आर्थिक वर्ष २०७२/०७३मा ठेक्का लागेको झोलुङ्गे पुल नबन्दा त्यहाँका स्थानीय बर्खामा डुङ्गा र हिउँदमा बाँसे पुलमा हिंड्न बाध्य छन् ।स्थानीय इन्तियाज आलमले कचनकवल गाउँपालिकाबाट डुङ्गा र बाँसे पुलको ठेक्का लिएर स्थानीयबाट रकम असुल्दै आएको बताए । डुङ्गामा मोटरसाइकलको भारु ५०, साइकलको भारु ३० र मान्छेको भारु २० लिँदै आएको उनले बताए ।

‘मेचीमा पुल नबन्दा यहाँका स्थानीयलाई धेरै समस्या छ’– स्थानीय कार्तिकलाल गणेशले भने– ‘नेताहरु आएर हेर्छन्, फर्किन्छन्, उनीहरूको अरू काम नै के छ र ?’ ‘चुनाव आउँदा गाउँ पस्ने नेताहरूको एउटै नारा छ, मलाई जिताउनुहोस् यसबर्षभित्र पक्का झोलुङ्गे पुल बनाइदिन्छौँ’– उनले भने । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले निलगिरी÷ महावीर जेभी काठमाडौँलाई २०७३ मंसीर १२ गते ठेक्का दिएको थियो ।

सो निर्माण कम्पनीले ३ करोड ६४ लाख रुपैयाँमा पुलको ठेक्का लिएको थियो । पुलको लम्बाइ ४४२ दशमलव ४५ मिटर र चौडाइ चार फिट रहेको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । ६ वर्ष बित्न लाग्दा समेत निर्माण कम्पनीका युवराज डाँगीले पुलको दुई वटा पिलर खडा गरी अलपत्र अवस्थामा छाडेपछि सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख भरत अर्याल आफंै निर्माणस्थल पुगेर विषयवस्तु बुझेका थिए । निर्माण कम्पनीले अब पनि अधुरो काम पूरा नगरे कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने योजना प्रमुख अर्यालले बताए ।

कचनकवल गाउँपालिका–१ स्थित पिण्डलबारीको अवस्था पनि त्यस्तै छ । बिरीङ नदीमा निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुल नबन्दा त्यहाँका जनताले पनि वर्षौँदेखि सास्ती झेल्दै आएका छन् । बर्खामा प्यालिष्टको ड्रम र बाँसले बनाएको डुङ्गा (फेरी) र हिउँदमा बाँसे पुलको प्रयोग गर्नुपर्ने त्यहाँको बाध्यता छ । मोटरसाइकलको ८० रुपैयाँ र साइकलसहित मान्छेको ३० रुपैयाँ स्थानीय तेजनारायण राजवंशीले असुल्दै आएका छन् । गाउँपालिकाले सहयोग नगर्दा पुल बनाएको खर्च उठाउँदै आएको उनले बताए ।

सस्पेन्सन ब्रिज डिभिजनले पनि विरीङ नदीमा आर्थिक वर्ष २०७५÷०७६मा झोलुङ्गे पुल बनाउन ठेक्का लगाएको थियो । सो पुलको ठेक्का बिएलटी निर्माण कम्पनीले लिएको हो । कम्पनीले एउटा पिलर अधुरो छाडेर काम ठप्प राखेको छ । यस पल्ट नदीले धार परिवर्तन गर्दा ठेक्का लागेको पुलको टेण्डर रद्द गरी नयाँ प्रक्रियाबाट ठेक्का लगाउनु पर्ने अवस्था देखिएको योजना प्रमुख अर्यालले बताए । पहिला सानो लम्बाइको पुल बनाउन लागेकोमा अहिले लामो पुल बनाउनुपर्ने देखिएको उनको भनाइ छ ।

यता भद्रपुर–३ स्थित भैंसाबाडीबासीले पनि मेची नदीमा अस्थायी बाँसे पुल बनाउँदै आएको छ । भारतीय बजार ओहोरदोहोरका लागि त्यहाँ स्थानीयले बाँसे पुल बनाउँदै आएका हुन् । यस वर्ष पनि बाँसे पुल बनाउने काम भइरहेको स्थानीयले बताएका छन् । त्यहाँ पनि झोलुङ्गे पुल बनाउनुपर्ने स्थानीयको माग छ । यो क्षेत्र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र हो ।

त्यसैगरी नेकपा एमाले केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५मा पनि स्थानीयलाई त्यस्तै समस्या छ । हुलाकी राजमार्ग जोड्ने गौरीगञ्ज गाउँपालिका–५स्थित रतुवा नदीमा पक्की पुल नबन्दा त्यहाँका स्थानीय बर्खायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । रतुवा नदी झापा र मोरङको सीमाना पनि हो । अहिले नदीमा अस्थायी बाँसे पुल बनाएको छ । बाँसे पुल तर्न मोटरसाइकलले १००, साइकलसहित मान्छेले ५० रुपैयाँ र मान्छेको २० रुपैयाँ शुल्क तोकिएको छ । नदीमा पक्की पुल बनाउने ठेक्का आर्थिक वर्ष २०६४/०६५मा कालिका ओसिए जेभीले लिएको हो । ठेक्का लागेको पुल १५ वर्ष बितिसक्दा पनि अधुरै छ ।

निर्माण कम्पनीले १० करोडमा ३२ लाख ९१ हजार रुपैयाँ पुलको ठेक्का लिएको हो । ठेकेदारले अहिलेसम्म नदीमा आधा भाग पनि नढाक्ने गरी पुल बनाएपछि स्थानीय समस्यामा छन् । पुल नबन्दा त्यहाँका स्थानीयले करिब एक किलो मिटर पारि रहेको बस्ती पुग्न बर्खामा झण्डै ३० किलोमिटर घुम्नुपर्ने बाध्यता रहेको कुलदेव ताजपुरियाले बताए । ‘चुनाव आएपछि पुल बनाउने दल र उम्मेदवारको नारा नै हुन्छ, तर समस्याको अन्त्य गर्दैनन्’– उनले थपे । गौरीगञ्ज–३स्थित नेहेरा खोलाको पक्की पुल पनि अधुरै छ । त्यहाँ काठको पुल बनाइएको छ । त्यहाँका स्थानीयले पनि जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

त्यस्तै प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका नेता लालप्रसाद सावाँ लिम्बू (एलपी)को निर्वाचन क्षेत्र झापा ४मा पनि दुई वटा पक्की पुल वर्षौँदेखि अलपत्र छन् । हुलाकी राजमार्ग अन्तर्गतको कनकाई र विरीङ नदीमा पुल नबन्दा त्यहाँका स्थानीय बर्खामा डुङ्गा र हिउँदमा बाँसे पुल प्रयोग गर्न बाध्य छन् ।

झापा गाउँपालिका–५ स्थित पन्थपाडास्थित बिरीङ नदीमा अहिले बाँसे पुल बनाएको छ । बर्खामा त्यहाँ डुङ्गा चल्छ । स्थानीयले दुवै मौसममा नदी तर्न पैसा तिर्नुपर्ने हुन्छ । बाँसे पुल चढ्दा मोटरसाइकलले ५० रुपैयाँ, साइकलको ३० रुपैयाँ र पैदलयात्रीलाई २० रुपैयाँ लिने गरेको स्थानीय बताउँछन् । गाउँपालिकाबाट स्वीकृति नलिई बाँसे पुल बनाउने ठेकेदारले मनपरी रकम असुल्ने गरेको स्थानीयको भनाइ छ । झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका जोड्ने नदी पनि यही हो । सो पक्की पुल बनाउने ठेक्का लामा–मैनाचुली जेभीले ०६८ वैशाखमा १५ करोड ५० लाख ५८ हजारमा लिएको थियो ।

झापा गाउँपालिका–२ रंगथानस्थित कनकाई माई नदीको पुल पनि एक दशकदेखि अलपत्र छाडेर ठेकेदार बेपत्ता छन् । कनकाई माईमा पनि स्थानीयले डुङ्गा र बाँसे पुलबाट ओहोरदोहोर गर्दै आएका छन् । ठेकेदारले यात्रुबाट पैसा असुल्दै आएको छ । स्थानीयले मोटरसाइकलमा यात्रा गरेको एक सय र मान्छे मात्र हिँडेको २० रुपैयाँ बुझाउँदै आएका छन् । आर्थिक वर्ष २०६७/०६८मा ३४ करोडमा ठेक्का लागेको ७२४ मिटर लम्बाइको कनकाई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पु जेभीको पार्टनर महादेव खिम्तीले काम शुरु गरेको हो । तर, पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन ।

त्यस्तै झापा–१ अन्तर्गत मेचीनगर–१५ ज्यामिरगढीस्थित ग्वालगाउँ जोड्ने निन्दा नदीको झोलुङ्गे पुल निर्माण कार्यले पनि गति लिन सकेको छैन । रौतहट अनुसुवी÷अन्सुमन जेभी उदयपुरले ३ करोड ९६ लाख रुपैयाँमा सो पुलको ठेक्का लिएको थियो । पुलको लम्बाइ ३२६ दशमलव २० मिटर रहेको छ । २०७८ जेठ ८ गते सम्झौता गरेको पुलको कुनै काम पनि भएको छैन । नदी कटानका कारण ठाउँ परिवर्तन भएकोले लागेको ठेक्का रद्द गरी पुनः डीपीआर बनाएर टेन्डर लगाउनुपर्ने स्थलगत अनुगमनको क्रममा देखिएको सस्पेन्सन ब्रिज डिभिजनका इञ्जिनियर उपेन्द्र देवकोटाले बताए ।

उता शिवसताक्षी नगरपालिका–७ स्थित लालपानी–चन्द्रडाँगी जोड्ने कनकाई नदीमा लागेको झोलुङ्गे पुलको अवस्था पनि त्यस्तै छ । पशुपति÷हरिहरि जेभी काठमाडौँले ७ करोड ८१ लाख रुपैयाँमा ठेक्का लिएको पुलको निर्माणले अझै गति लिन सकेको छैन । २०७७ असार ३१ गते ठेक्का लागेको पुलको लम्बाइ ६४४ दशमलव २० मिटर रहेको छ ।

२०७९ असार २९ गते निर्माण कार्य सक्नुपर्ने थियो । सरकारले एक वर्ष म्याद थप गर्ने निर्णय गरेसँगै सो कम्पनीले पनि एक वर्ष म्याद थप पाएको इञ्जिनियर सापकोटाको भनाइ छ । झापा र मोरङ सीमा जोड्ने रतुवा खोलामा निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुल पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । निलगिरी/महावीर जेभी काठमाडौँले ३ करोड २३ लाख रुपैयाँमा सो पुलको ठेक्का लिएको थियो ।

४४५ दशमलव ४० मिटर लम्बाइ रहेको पुलको सम्झौता २०७३ भदौ १५ गते भएको थियो । ६ वर्ष बित्न लाग्दा समेत त्यो पुल अझै सञ्चालनमा नआएको स्थानीयको गुनासो छ । हाल त्यो पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको इञ्जिनियर सापकोटाले जानकारी दिए ।

Comments

सम्बन्धित खवर