कांग्रेसका प्रदेश एक महामन्त्री भूपेन्द्र राईसहित चार नेताविरुद्ध उजुरी : निर्वाचनमा अन्तर्घात गरेकाे आरोप
- जेष्ठ २४, २०७९ मा प्रकाशित
इटहरी । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेर आधिकारिक उम्मेदवार हराएको भन्दै नेपाली कांग्रेस प्रदेश–१ का महामन्त्री भूपेन्द्र राईसहित चार जनाविरुद्ध अनुशासन समितिमा उजुरी परेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टी आधिकारिक उम्मेदवारलाई हराउन महामन्त्री राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, प्रदेश सदस्य पूर्णबहादुर खड्का र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा सभापति रामचन्द्र राईविरुद्ध कांग्रेस खोटाङको अनुशासन समितिमा उजुरी परेको हो ।
चार नेताविरुद्ध कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भएका नइन्द्र राई, उपाध्यक्षका उम्मेदवार रमा कटुवालसहित सात वडाका वडाध्यक्ष पदका उम्मेदवारले कारबाहीका लागि समितिमा उजुरी दिएका हुन् । पराजित उम्मेदवारहरूले पार्टीको विधान २०१७, (संशोधन सहित) धारा ३४ उपधारा ४ को क, ख र ग आकर्षित हुनेगरी कारबाही गर्न माग गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा महामन्त्री राई भने विजयी भएका थिए । गाउँपालिकामा यस पटक नेकपा एमालेका लोकेन्द्र राई विजय भए । त्यसपछि महामन्त्री राईमाथि अन्तर्घातको आरोप लागेको हो ।
महामन्त्री राईमाथि आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिन कार्यकर्ता उक्साएको, विपक्षी दल एमाले नेता र उम्मेदवारसँग गोप्य बैठक बसेर पार्टीको आन्तरिक रणनीति तथा गोपनीयता भङ्ग गरी आर्थिक लेनदेन र चलखेल गर्दै मतदाता तथा कार्यकर्ता भड्काएको उजुरी उल्लेख छ ।
उजुरीमा गुट खडा गरी अन्तर्घात गराउँदै आधिकारिक उम्मेदवारलाई लज्जास्पद पराजय गराएको, पदको दुरुपयोग गरी हरेक वडामा अधिवेशनको नकारात्मक विषयवस्तुबारे दुष्प्रचार गरी कार्यकर्ता वा मतदातालाई भड्काएको आरोप पनि छ । पार्टीको चुनावी सभामा सहभागी हुन उदासिनता देखाएको, संलग्न चुनावी सभामा विवादास्पद अभिव्यक्ति दिएको आरोप पनि पराजित उम्मेदवारहरूले लगाएका छन् ।
यस्तै, गिरीमाथि आधिकारिक उम्मेदवारविरुद्ध दुष्प्रचार गरेको, पदीय जिम्मेवारीलाई वहन नगरको, विपक्षी पार्टीका नेता र उम्मेदवारसँग बैठक बसेर गोपनीयता तथा रणनीति ‘एक्सपोज’ गराएको, आधिकारिक उम्मेदवारविरुद्ध वितृष्णा फैलाएको जस्ता आरोप लागेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments