•  ११ मंसिर २०८१, मंगलवार
  •  11:26:04 AM

कमल थापा भन्छन – नेपालमा राजतन्त्र अब फर्किदैन , प्रदेश सरकार तत्काल खारेज गर्दा हुन्छ

- जेष्ठ २३, २०७९ मा प्रकाशित



इटहरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकार नचाहिने बताएका छन् । आइतवार राप्रपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले केन्द्र र स्थानीय सरकार मात्रै चाहिने बताएका हुन् । स्थानीय तहलाई अझ अधिकार दिएर सम्पन्न बनाए प्रदेश सरकार नै नचाहिने उनको भनाइ रहेको छ ।

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रपति बनाउनुपर्ने उनले जोड दिए ।

नेपालमा धर्म परिवर्तनको डढेलो लागेको उनले बताएका छन् । उनले धर्म निरपेक्षताको आडमा योजनाबद्ध हिसाबले हिन्दू धर्ममाथि प्रहार हुँदा समेत सरकार मौन बसेको आरोप लगाएका छन् ।

यस्तै उनले राजसंस्था पुनस्र्थापना हुने सम्भावना समाप्त भएपछि राजसंस्थाको मुद्दा त्यागेको समेत उनले बताए । जनतालाई भुलभुलैयामा पार्नु हुँदैन भनेर राजसंस्थाको मुद्दा छाडेको उनको भनाइ छ ।

‘टाउकोमा कपन बाँधेर १५ वर्ष सम्म हिँडियो, तर राजाको तर्फबाट कुनै सकारात्मक कदम अगाडि बढेन,’ उनले भने, ‘जनता र राजनीति दलको मन जित्ने कुनै पनि सकारात्मक काम राजा र उनको सचिवालयबाट भएन बरु राजतन्त्रको मुद्दा बोक्नेलाई पटक–पटक प्रहार मात्रै भयो ।’

विदेशी र नेपाली सेनाले ल्याएर राजा राखिदिँदैमा राजतन्त्र नफर्कने उनको भनाइ छ । उनले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले राज संस्थाको एजेन्डामा पुनर विचार गरे सहकार्य गर्न सकिने समेत बताएका छन ।कांग्रेस, एमाले माओवादीसँग सहकार्य हुन सक्दा राप्रपासँग सहकार्य हुदैन भन्ने कुरै नभएको उनले बताएका छन । उनले राप्रपाले राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नु पर्ने बताएका छन ।

Comments

सम्बन्धित खवर