•  ९ मंसिर २०८१, आईतवार
  •  10:26:09 PM

माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने

- मंसिर ९, २०८१ मा प्रकाशित



इटहरी । सिङ्गो मुलुकलाई सडक मानवमुक्त बनाउने अभियानमा दौडिएको र अशक्त, असहाय व्यक्तिहरूलाइ सहारा दिँदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले सोमबार आठौँ वार्षिक साधारणसभा भव्यताका साथ मनाउने भएको छ। साधारणसभाका सम्पूर्ण तयारी पूरा भएको माया घर नेपालका केन्द्रीय कार्यालय इटहरीको सचिवालयले जनाएको छ। कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले सो साधारणसभाको उद्घाटन गर्ने भएका छन्। साधारणसभामा माया घर नेपालले अहिलेसम्म गरेको प्रगति प्रतिवेदन, एक इट्टा अभियानलाई थप प्रभावकारी बनाइने विषयमा छलफल हुने भएको छ।

कार्यक्रममा संस्थामा अहोरात्र खटिने कर्मचारीदेखि सामाजिक व्यक्तित्व, पत्रकारसम्मलाई सम्मान गरिने भएको छ। साधारणसभाकै अवसरमा माया घरले अहिलेसम्म गरेको सडक मानव उद्धारका गतिविधि लगायत सम्पूर्ण विवरणहरू सार्वजनिक गरिने कार्यत्रम तय भएको छ। २०७४ सालमा पूर्वको हरितनगरी इटहरीमा स्थापना भएको ‘माया घर नेपाल’ मानसिक रोगी, असहाय, हिंसा पीडित तथा सडक मानवहरूको उद्धार र सेवामा समर्पित रहँदै आएको छ।

इटहरी-२ मा अवस्थित माया घरद्वारा हालसम्म १० हजारजना भन्दा बढी बेसहारा मानिसहरूको पुनःस्थापना तथा पारिवारिक मिलन भइसकेको छ। हाल संस्थामा करिब १५० जनाले आश्रय लिइरहेका छन्। आश्रयमा बस्नेहरूमा हिंसा पीडित, असहाय, मानसिक रोगी तथा सडकमा आश्रित सडक मानवहरू रहेका छन्।

यस्ता बेसहारा मानिसहरूलाई गाँस, बास र कपासलगायत उनीहरूको स्वास्थ्य उपचारमा पनि अत्यधिक खर्च हुने गरेको संस्थाले जनाएको छ। मायाघरकी अध्यक्ष सुभद्र प्‍याकुरेलका अनुसार माया घर संचालनमा मासिक करिब ८ देखि १० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। खर्च जुटाउन हालसम्म स्थानीय सरकार, विभिन्न संघसंस्था तथा सहयोगी दाता व्यक्तिहरूको सहयोगमा व्यवस्थापन हुँदै आएको छ। आश्रयमा रहने व्यक्तिहरूको पालन पोषण र व्यवस्थापन खर्चहरू सधैँ सहयोग जुटाएर गर्नुपर्दा धेरै समस्या हुने गरेको संस्थाकी अध्यक्ष प्‍याकुरेलको भनाइ छ।

Comments

सम्बन्धित खवर