•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:08:00 PM

प्राधिकरणकाे अल्टिमेटम पछि सौर्य उर्जा तर्फ लगानी गर्दै सुनसरी –माेरङका उद्याेगीहरू , कुन उद्याेगले मागे कति मेगावाट ?

- कार्तिक १, २०८१ मा प्रकाशित



इटहरी । सुनसरी–माेरङका  परिचित औद्योगिक घरानिहरू सौर्य उर्जा उत्पादनमा लगानी गर्न इच्छुक देखिएका छन्। नेपाल विद्युत प्राधिकरणले सौर्य उर्जा उत्पादनका लागि आह्वान गरेको प्रस्तावमा विभिन्न उद्योगीहरूले भाग लिँदै लगानीका लागि इच्छुक भएकाे देखाएका छन । गोल्छा अर्गनाइजेसनको अरिहन्त समूहका राजकुमार गोल्छा र आनन्द इँटा उद्योगका संचालक दिलिप बगडिया लगायतका उद्योगीहरूले प्राधिकरणमा सौर्य उर्जा उत्पादनका लागि प्रस्ताव पेश गरेका छन्। गोल्छा अर्गनाइजेसनले सुनसरीको बर्जु गाउँपालिकामा २५ मेगावाट सौर्य उर्जा उत्पादनको प्राविधिक प्रस्ताव स्वीकृत गरेको छ। यदि वित्तीय प्रस्ताव पनि स्वीकृत भयो भने, यसले सौर्य उर्जा उत्पादकको रूपमा अघि बढ्ने अवसर पाउनेछ।

त्यस्तै, आनन्द इँटा उद्योगका संचालक दिलिप बगडियाले पनि सुनसरीमा २५ मेगावाट, मोरङको कटहरी र रंगेलीमा १०–१० मेगावाट सौर्य उर्जा उत्पादनको प्रस्ताव पेश गरेका छन्। उदयपुरमा सुनलाइट इनर्जीले जलजलेमा १० मेगावाट र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले तेह्रुममा २० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने योजना बनाएका छन्।झापामा १३ वटा कम्पनीले १४५ मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्नका लागि प्रस्ताव गरेका छन्। मोरङमा पनि १३१ मेगावाट क्षमताको ऊर्जा उत्पादनका लागि १० वटा कम्पनी छानिएका छन्।

नेपाल विद्युत प्राधिकरणले ३,४९३ मेगावाट क्षमताका सौर्य उर्जा उत्पादनको प्राविधिक प्रस्ताव स्वीकृत गरिसकेको छ। अब वित्तीय प्रस्तावमा प्रतिस्पर्धा गर्नुपर्नेछ, जसमा सफल हुने कम्पनीहरूले परियोजना सम्झौताका लागि अघि बढ्नेछन्।सौर्य उर्जामा प्रति मेगावाट ६ देखि ७ करोडको लगानी आवश्यक पर्नेछ, जसमा ६० देखि ७० प्रतिशत खर्च सोलार प्यानल खरिदमा हुनेछ। प्राधिकरणले न्यूनतम मूल्यमा विद्युत् विक्री गर्ने उत्पादकलाई छनोट गर्नेछ।सामूहिक रूपमा, कोशी प्रदेशमा ५३ कम्पनीले ६७६ मेगावाट सौर्य ऊर्जा उत्पादनको प्रस्ताव गरेका छन्, जसले नेपालको ऊर्जा क्षेत्रलाई थप सशक्त बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Comments

सम्बन्धित खवर