•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:13:24 PM

बाबुसँग झगडापछि आफ्नै पेटमा चक्कु रोपेका युवकको मृत्यु

- आश्विन २९, २०८१ मा प्रकाशित



दाङ । दाङमा आफै पेटमा चक्कु रोपेका युवकको मृत्यु भएको छ । भक्तपुरको नगरकोट नगरपालिका– १४ का २८ वर्षीय अनिल तामाङको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

तामाङले मंगलबार बिहान साढे ९ बजे आफ्नै पेटमा छुरा प्रहार गरेपछि उपचारका लागि तुलसीपुर ल्याइएकोमा पौने ११ बजेतिर उनको मृत्यु भएको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

अनिल असोज २३ गते मात्रै दाङको बबई गाउँपालिका– ४ हापुरे आएका थिए । अनिलका बुवा, दाजु र बहिनी लगायत परिवारका सदस्यले हापुरे बजारमा डोल्मा होटल सञ्चालन गर्दै आएका थिए । प्रहरी निरीक्षक थापाका अनुसार अनिलले बिहानै मदिरा सेवन गरी बुवा सोमार तामाङसँग झगडा गरेपछि आफ्नै पेटमा छुरा हानेका थिए । प्रहरीका अनुसार अनिलले सम्पत्तिको बिषयमा बाबु (बुबा) सोमारसँग यसअघि पनि पटक–पटक विवाद भएको थियो ।

बिहान सोही विषयमा बाबु छोराबीच सामान्य विवाद भएपछि अनिल आफैले आफ्नो पेटमा छुरा प्रहार गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन् । प्रहरीले छोराको उपचारका लागि आएका बुवा सोमारलाई तुलसीपुरबाट र अनिलका ३१ वर्षीय दाजु पूर्णलाई हापुरेस्थित होटेलबाट नियन्त्रणमा लिएको छ । उनीहरूसँग घटनाबारे सोधपुछ भइरहेको छ । मृतकको शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Comments

सम्बन्धित खवर