•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:09:51 PM

गौशालाको धर्मशाला खाली गरिंदै, काठमाडौं महानगरले माग्यो सुरक्षा

- आश्विन २९, २०८१ मा प्रकाशित



काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशालास्थित धर्मशाला सञ्चालन गर्नका लागि काठमाडौं जिल्ला प्रशासनसँग सुरक्षा मागेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पत्र लेख्दै प्रशासनसँग सुरक्षा दिन माग गरेका हुन् ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरबिच पशुपति गौशाला धर्मशाला सञ्चालन, व्यवस्थापन गर्ने लिखित सहमति भएको र उक्त सहमतिपत्र बमोजिम सञ्चालन र व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोग गरिदिन पत्रमा प्रशासनलाई अनुरोध गरिएको छ ।

यसैबीच मारवाडी समुदायले कब्जा जमाएको गौशालास्थित पशुपतिनाथको धर्मशाला खाली गराउने तयारी अगाडि बढाइएको छ । काठमाडौँ महानगरले आज धर्मशालाबाट मारवाडी सेवा समितिको सबै सामान हटाउन लागेको हो ।महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अपराह्न ३ बजे सामान हटाउन लागेको जानकारी दिए । असोज २३ गते धर्मशाला खाली गराउन पुगेको महानगर प्रहरीलाई मारवाडी समुदायले अवरोध गरेका थिए ।

अवरोधबीच धर्मशालाबाट मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरको बोर्ड झुण्डाइएको थियो । २१ वर्षदेखि बर्षको ५१ हजार भाडामा समितिले धर्मशालाको ९ रोपनी ९ आना दुई पैसा जग्गा भोगचलन गर्दै भएको थियो । तर, सुदन किराँती पर्यटनमन्त्री भएका बेला २०८० साउन १७ गते पशुपति क्षेत्र विकास कोषले सम्झौता खारेज गरेसँगै विवाद चर्किएको छ । त्यसपछि मारवाडीहरुले काठमाडौँ जिल्ला अदालतमा रिट हालेका थिए । तर, सम्झौता खारेजीको निर्णय अदालतले सदर गरेपछि पनि मारवाडीहरुले धर्मशाला नछोडेपछि महानगरले प्रहरी लगाएर हटाउन लागेको हो ।

Comments

सम्बन्धित खवर