•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:03:30 AM

मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक युवकको मृत्यु, तीन जना घाइते

- आश्विन २८, २०८१ मा प्रकाशित



चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक खैरहनी नगरपालिका–१ बस्ने वर्ष २१ को दीपेश चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते अवस्थामा रहेका चौधरीको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा आइतबार साँझ सवा ७ बजे मृत्यु भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार स्कुटरमा पछाडि सवार खैरहनी नगरपालिका–१ बस्ने वर्ष २४ का अर्जुन चौधरी गम्भीर घाइते भएका छन् । नाक र मुखमा चोट लागी घाइते भएका चौधरीको मनकामना अस्पतालमा उपचार जारी छ ।

त्यसैगरी मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ बस्ने वर्ष २२ को अनिस बस्नेत र सोही मोटरसाइकलको पछाडि बस्ने सोही स्थानका वर्ष २२ को सुजेक दराई घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको र पुरानो मोडिकल कलेज भरतपुरमा उपचार भइरहेको यादवले जानकारी दिए । दुर्घटना आज साँझ सवा ६ बजेको हो ।

Comments

सम्बन्धित खवर