रतन टाटाको सौतेनी भाइ एक खर्ब ६५ अर्ब डलरको टाटा समूहको उत्तराधिकारी बन्ने
- आश्विन २६, २०८१ मा प्रकाशित
एजेन्सी । एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्ने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ । बुधबार निधन भएका रतन टाटाको स्थान नोएल टाटाले लिएका छन् । रतनले परिवारद्वारा सञ्चालित टाटा समूह सङ्गठनलाई विश्वव्यापी दिग्गजमा परिणत गरेका थिए । आफ्नो निधन हुँदासम्म रतन टाटा ट्रस्ट्सका अध्यक्ष थिए । ट्रस्ट्सको जटिल स्वामित्व संरचनामार्फत समूहको होल्डिङ कम्पनी टाटा सन्समा करिब ६६ प्रतिशत हिस्सा छ ।
बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्स जस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल शेयरधारक हो । ‘टाटा ट्रस्ट्स गठन गर्ने विभिन्न ट्रस्टहरूको अध्यक्षका रूपमा श्री नोएल नवल टाटालाई नियुक्त गर्ने र उहाँलाई अध्यक्षका रूपमा पदनाम दिने सर्वसम्मत निर्णय गरिएको छ’, एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उहाँको नियुक्ति तत्काल प्रभावकारी हुनेछ ।’ नोएल टाटाले वक्तव्यमार्फत आफू जिम्मेबारीप्रति गहिरो रूपमा सम्मानित र विनम्र रहेको र आफ्नो सौतेनी दाजुको विरासतलाई निरन्तरता दिन तत्पर रहेको बताएका छन् ।
नोएल दशकौँदेखि समूहसँग जोडिएका छन् । यद्यपि उनी विशेष गरी समूहको अन्त्यन्त सफल पोशाक खुद्रा व्यवसाय ट्रेन्टको अध्यक्षका रूपमा सार्वजनिक रूपमा चिनिन्छन् । टाटा ट्रस्ट्स सन् १८९२ मा स्थापना भएको थियो । यसले टाटा ब्रान्डअन्तर्गत आउने सूचीबद्ध फर्महरूको दैनिक कार्यमा कुनै भूमिका निर्वाह गर्दैन बरु आवास, स्वास्थ्य सेवा र शिक्षा परोपकारी संस्थाहरूलाई समर्थन गर्दछ ।
टाटा सन्स समूहको रणनीतिको जिम्मेबारीमा छ र हाल अध्यक्ष एन चन्द्रशेखरनको नेतृत्वमा छ । उनलाई सन् २०१७ मा नियुक्त गरिएको थियो । टाटा ट्रस्ट्स टाटा सन्सको सबैभन्दा ठूलो शेयरधारक भएकाले यसको अध्यक्षले प्रभावकारी रूपमा विशाल साम्राज्यको निरीक्षण गर्दछ र चन्द्रशेखरनले सम्भावित उत्तराधिकारी निर्णय गर्नमा महत्वपूर्ण भूमिका खेल्ने छन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments