ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, विराटनगर भन्सार परिसर तनावग्रस्त
- आश्विन १८, २०८१ मा प्रकाशित
इटहरी । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित विराटनगर भन्सार कार्यालय (आईसीपी) परिसर तनावग्रस्त बनेको छ । भन्सार कार्यालय जाने सडकमा दुर्घटना भएर साइकल यात्रीको मृत्यु भएको विषयलाई लिएर स्थानीय ढुङ्गामुढामा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो ।
आक्रोशित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको छ । भन्सार कार्यालय तोडफोडको प्रयासपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले १० शेल अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
उनका अनुसार विराटनगर–१८ स्थित आईसीपी रोडमा ट्रकको ठक्करबाट बिहीबार साँझ १ जना साइकलयात्रीको मृत्यु भएको थियो । ट्रकको ठक्करबाट विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो ।
गम्भीर घाइते उनलाई इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले उपचारका लागि विराट नर्सिङ होम पठायो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिए । ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० दीपक यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । ट्रक चालकको लापरवाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । दुर्घटनापछि बिहीबार साँझ विराट नर्सिङ होसमा समेत तनाव भएको थियो । आक्रोशित भिडले अस्पतालमा तोडफोडको प्रयास गर्दै सुरक्षा गार्ड र कर्मचारीमाथि दुव्र्यवहार समेत गरेको प्रहरीले जनाएको छ ।
स्थानीयले भने सुरुमा अस्पतालका सुरक्षा गार्डले कुटपिट गरेको बताएका छन् । अहिले पनि मृतकको शव अस्पतालमै छ । परिवारका सदस्य र आफन्तले बुझ्न अस्वीकार गरेका छन् । आईसीपी रोडमा सवारी दुर्घटना धेरै भइरहेको भन्दै विरोधमा स्थानीय आन्दोलित बनेका छन् ।
त्यस क्रममा आक्रोशित भीडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको डीएसपी जोशीले बताए । उनका अनुसार ढुंगामुढाबाट भन्सारको गेट र भवनमा क्षति पुगेको छ । कार्यालय भवनको शिशाहरु फुटेका छन् । भीड रोक्ने क्रममा ढुंगामुढा हुँदा असइ (प्रहरी सहायक निरीक्षक) सहित ४ जना प्रहरीले सामान्य घाइते भएको जानकारी जोशीले दिए । भीड थप आक्रोशित बनेर अनियन्त्रित हुँदै गएपछि नियन्त्रणमा लिन अश्रुग्यास र लाट्ठी प्रहार समेत गर्नु परेको उनको भनाइ छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments