बलान नदी कटानले जोखिममा बस्ती , पीडितहरू भन्छन : ‘नदीले हामीलाई रित्तो बनाई दियो, सबै सकियो’
- आश्विन १७, २०८१ मा प्रकाशित
सिरहा । केही दिनअघिको वर्षाले सिरहामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदी आसपासका सयौँ बिघा खेतीयोग्य जमिन कटान गरेको छ । यहाँको बलान नदीले तटबन्ध भत्काउँदा किनाराका बस्ती बगाउने त्रासमा स्थानीय छन् ।
सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीको बाढीले तटबन्ध भत्काएर लहान-४ स्थित इस्लामपुरको बस्तीमा पसेको थियो । करिब तीन सय मिटर तटबन्ध भत्काएर बस्तीमा बाढी पसेपछि ३० घरपरिवार बिचल्लीमा परे । सयौं बिघाको धानखेत क्षणभरमै सखाप भयो । ‘एक्कासी बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भागाभाग भयो’, लहान-४ इस्लामपुरका बाढीपीडित मो सदरुर मियाँले भने, ‘नदीले तटबन्ध नै भत्काएछ ।’
मियाँको जस्तै समस्या लहान-२३ तिलेबोनाका गङ्गाप्रसाद यादवले पनि भोगिरहेका छन् । हरेक वर्ष बलान नदीले जमिन कटान गर्दा बस्ती बगाउने चिन्तामा रातदिन बस्नुपरेको उनले बताए । ‘दशकौंदेखि गरिखाने जमिन आँखै अगाडि हेर्दाहेदै नदीले निलेको हेर्न विवश छौँ । यो नदीले हामीलाई रित्तो बनाइदियो, सबै सकियो । ओत लाग्ने घर पनि बाढीले कुन दिन बगाउने हो, टुङ्गो छैन’, यादवले भने ।
बाढीले तिलेबोनामा मात्रै १० बिघा खेतीयोग्य जग्गासँगै आँपको बगान बगाएको छ । नदीले कटान गरी गाउँ नजिक पुगिसकेकाले तत्कालै नियन्त्रण नगरेमा दक्षिणी भेगका सखुवानान्कारकट्टी र भगवानपुर गाउँपालिका प्रभावित हुने स्थानीय बताउँछन् । ‘हिउँदमा चकमन्न भएर बग्ने बलान नदी वर्षातसँगै भेल बाढी मात्र बग्दैन, नदीकिनार बासिन्दाको आँशु पनि सँगै बग्छन्’, सखुवानन्कारकट्टी गाउँपालिकाको—४ का हरिलाल यदवले भने । उनका अनुसार पछिल्लो दशकमा नदीले बसनपुरमा २२, भगवतीपुर मौजीमा ५१, सिम्राहा मौजीमा ८४ बिघा जमिन कटान गरिसकेको छ । सयौँ बिघा नम्बरी जग्गा बगर बनाएको छ । नदी सोझिएको बस्ती तर्फ लागेको यादव बताउँछन् ।
कुनै बेला जमिनदारको गाउँ भनेर कहलिने इटहर्वा, भगवानपुर, तिलेबोनालगायतका गाउँको परिचय अहिले मेटिएको छ । नदीले करिब १५ वर्षअघि धार परिवर्तन गरी बस्तीतिर सोझिएपछि विपद् सुरु भएको थियो । त्यसयता लहान नगरपालिकाको वडाअन्तर्गत ३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेवोना तथा भगवानपुर गाउँपालिकाको १, ३ र ४ नम्बर वडाअन्तर्गत भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको उच्च जोखिममा छन् ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाका डिभिजन प्रमुख हसमत अन्सारीका अनुसार नदी नियन्त्रणको लागि पर्याप्त बजेट उपलब्ध छैन । उनले भने, ‘स्थानीय तह र प्रदेश सरकारबाट जे जति काम भएको छ, त्यो पर्याप्त छैन ।’ बलान नदी नियन्त्रणको लागि लहान नगरपालिकाले वडा नं २३ स्थित तिलेबोनामा अघिल्लो आवमा ५० लाख बढी खर्चेर करिब एक सय ५० मिटर तटबन्ध निर्माण गरेको थियो । गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारबाट बलान नदी नियन्त्रणको लागि रु ९५ लाख खर्चेर करिब पाँच सय मिटर तटबन्ध निर्माण गरिएको थियो । लहान नगर प्रमुख महेशप्रसाद चौधरीले बलान नदी नियन्त्रणको लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश तथा सङ्घीय सरकारलाई सहयोगको आग्रह गरे ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments