•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:03:26 AM

बाढीबाट छिमेकी बचाउन गए डुकुमान, उनकै सिङ्गो परिवार पहिरोले पुर्‍यो

- आश्विन १६, २०८१ मा प्रकाशित



काठमाडाैं । शुक्रबार दिउँसोदेखि पर्न थालेको झरी राति झन बढ्यो । कतवन हुँदै बग्ने ठोस्ने खोलाको गडगडाहट चर्किंदै गयो । मुसलधारे पानी रोकिने कुनै छेकछन्द थिएन । मध्यराततिर पानी अझ बढेपछि ललितपुरको महांकाल गाउँपालिका–२ मानिखेल बेंसीका बासिन्दा आत्तिन थाले । बिजुली अवरुद्ध, फोन लाग्न छोड्यो ।  ठोस्ने खोलाको बाढी पनि बढ्यो ।

राति १ बजेतिर डुकुमान स्याङ्तानको घरभन्दा पचास मिटर तल रहेका ७ घरमा बाढी पस्न थाल्यो । सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर डुकुमान छिमेकीहरूको उद्धार गर्न तल झरे । ती घरका मानिसलाई सुरक्षित स्थानमा ल्याइसकेका मात्र के थिए, डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले आफ्नै घर पुर्न थालेको देखे । उनी आफ्नो घर पुग्नै पाएनन् । पहिरो यति तीव्र गतिमा झर्यो कि उनी पुग्नुअघि नै उनको घर पुर्‍यो । ठोस्ने खोला छेउमा आइसकेको थियो । गुहार मागे । चिच्याए, अनि थचक्क भुँइमा बसेर रोए ।
‘मेरो सर्वस्व गुम्यो !’

डुकुमानको सर्वस्व अर्थात् श्रीमती राममाया स्याङतान, जेठा छोरा १४ वर्षीय अजय र ११ वर्षीय सुवास र ९ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्‍यो । ठोस्ने खोलाले सबैलाई बगाएको शंका गरेर उनी खोलामा खोज्न थाले । शनिबार बेलुकाबाट वर्षा रोकियो । खोलाका किनारै किनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारै जनाको खोजी गरे । तर, भेट्न सकेनन् ।

तर पनि चारै जना कहीँकतै जिउँदै भेटिने आश थियो उनमा । असोज १३ गते दिनभर खोज्दा पनि उनीहरू भेटिएनन् । डुकुमान निराश भए । विद्युत्, सडक र सञ्चार विच्छेदले समयमै प्रहरी आउन सकेन । सोमबार पनि खोजी कार्य जारी रह्यो । बल्ल पुगेको प्रहरी र छिमेकीले पहिरोले पुरेको घरमा खन्न थाले । दिउँसो २र३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला परेको महांकाल गाउँपालिका–२ का अध्यक्ष जोनीकुमार न्यासुरले जानकारी दिए ।

‘भर्‍याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो,’ न्यासुरले भने, ‘राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ ।’ माटो र ढुङ्गाले बनेको घरको चोटामा उनीहरू बस्थे । भान्सा तल थियो । ‘जब माथिबाट पहिरो आयो, भाग्दै गर्दा भर्‍याङमुनि पुगेपछि एकैपटक थिचेको हुनसक्छ, समयमै घर उत्खनन् गर्न पाएको भए बाँच्थे कि जस्तो लाग्छ,’ न्यासुरले थपे । काठमाडौँमा रहेका न्यासुर सडक बन्द भएपछि असोज १४ गते हिँडेरै वडामा पुगेका थिए ।

‘सेना, प्रहरी, सशस्त्र र स्थानीयहरू उद्धारमा जुट्नुभएको थियो,’ न्यासुर भन्छन्, ‘उहाँहरूले भनेपछि घर खोतल्दा एउटै परिवारका ४ जना एकै ठाउँमा भेटियो ।’ परिवारका ५ मध्ये अब डुकुमान एक्लै जीवित छन् । उनका बुबा, आमा, दाइको पहिल्यै मृत्यु भइसकेको छ । उनी तीन वर्ष वैदेशिक रोजगारमा बसेर पाँच महिनाअघि मात्र फर्केका थिए ।

नेपाल फर्केपछि उनी ज्यालादारी गर्थे । वडाले केही योजनाहरूमा उनलाई काम लगाएको थियो । श्रीमती राममायाले खेती किसानी गर्थिन् । तरकारी लगाएकी थिइन् । केही चौपाया पालेका पनि थिए । तर, शनिबार ९असोज १२० डुकुमानको जीवनमा भयंकर ठूलो बज्रपात भयो । छिमेकी बचाउन गएका उनले आफ्नै परिवारका सबै सदस्य गुमाउन पुगे । अहिले उनी बेचैन छन् । बोल्न सक्तैनन् । ‘परिवारमा अब उहाँको कोही बाँकी छैन, एक्लै हुनुभयो,’ नेकपा माओवादी केन्द्रका जिल्ला नेता एवं डुकुमानका छिमेकी बुद्ध नेगीले भने । उनका अनुसार डुकुमानको घर मात्र होइन, त्यसभन्दा ५० मिटर तल खड्गेटोलमा रहेका ७ घरमा अहिले खोला हिँडेको छ ।

‘डुकुमानलाई अहिले छिमेकीले राखेका छन्, उहाँ धेरै निराश देखिनुहुन्छ । होसको कुरा गर्नै सक्नु भएको छैन,’ नेगीले थपे, ‘बेला बेला आफै झस्किनु हुन्छ । टोलाउनु हुन्छ ।’ पहिरोले उनको घर, बारी पनि सबै तहसनहस पारेको छ । अब उनलाई खानबस्नकै समस्या पर्ने देखिएको नेगी बताउँछन् । दुई दिनको लगातारको वर्षाले गएको बाढी र पहिरोमा परेर धेरै क्षति बेहोर्ने जिल्लामा पर्छ ललितपुर । त्यसमा पनि महांकाल गाउँपालिकाका अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । अझै दुई जना बेपत्ता छन् ।

तर, पाँच दिनसम्म विद्युत्, सञ्चार नहुँदा उद्धारमा ढिलाइ भएको पीडित बताउँछन् । ‘महांकालका २५ परिवार घरबारविहीन भए,’ नेगीले भने, ‘घाइतेहरू अझै छन् । अहिलेसम्म पालिका र वडाबाट कुनै सहयोग नै पाएका छैनन् । पीडितहरू स्थानीय सरकार खोज्दै हिँड्नु परेको छ ।’

Comments

सम्बन्धित खवर