•  १६ कार्तिक २०८१, शुक्रबार
  •  5:16:34 PM

मुलुकले पाउनेछ आज तेस्रो राष्ट्रपति विहान १० बजेदेखि मतदान, साँझ ७ बजेभित्रै परिणाम

- फाल्गुन २५, २०७९ मा प्रकाशित



काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ । मतदान बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

मतदानका लागि संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र रहेको छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्थापन गरिएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा सदस्य (२७५ जना), राष्ट्रिय सभा सदस्य (५९ जना) र ७ वटै प्रदेश सभाका सदस्य (५ सय ५०) गरी ८ सय ८४ जना मतदाता रहेका छन् । निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल प्रतिष्पर्धामा छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने तयारी रहेको छ । नतिजा सार्वजनिक हुने बित्तिकै नेपालले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउने छ ।

Comments

सम्बन्धित खवर