•  १० मंसिर २०८१, सोमबार
  •  7:49:21 AM

प्रदेश १ सरकारको विकास खर्चको प्रगति १९.२७ प्रतिशत

- माघ २१, २०७९ मा प्रकाशित



इटहरी । प्रदेश १ सरकारको विकास खर्चको प्रगति १९.२७ प्रतिशत मात्र छ । अन्य प्रदेशको तुलनामा भने यो धेरै खर्च हो । कर्णालीले त ९.०८ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । सातवटा प्रदेशमा सबैभन्दा कम खर्च कर्णालीमै भएको हो ।

त्यस्तै, मधेसले १०.३०, बागमतीले १०.४६, सुदूरपश्चिमले ११.०८, लुम्बिनीले १४.८२ र गण्डकीले १६.२९ प्रतिशत विकास खर्च गरेका छन् । प्रदेश १ ले यही अवधिमा चालू खर्च भने ३२.६ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालू आवका लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको छ ।

जसमध्ये पुँजीगत खर्च २२ अर्ब ९९ करोड ९४ लाख र चालू खर्च १६ अर्ब ७३ करोड ८९ लाख छ । अहिलेसम्म पुँजीगततर्फ चार अर्ब ४३ करोड १६ लाख चालूतर्फ पाँच अर्ब ४५ करोड ६७ लाख खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

यसपटक चुनावका वेला कम खर्च भएको आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ रहेको छ । सबैको ध्यान चुनावतिर गएकाले ८–१० प्रतिशत कम भएको उनले बताए ।

आर्थिक वर्षको पहिलो ६ महिनामा बजेट कम खर्च हुने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शिवकुमार कार्कीले दाबी गरे । पहिलो त्रैमासिकमा टेन्डर डकुमेन्ट तयारी र अख्तियारी प्रदानको समस्याका कारणले ढिलो हुने र दोस्रो त्रैमासिकदेखि कार्यान्वयन पनि सुरु हुने भएकाले बाँकी अवधिमा द्रुत गतिमा काम हुने उनको दावी रहेको छ ।

प्रदेश १ सरकारले ६ वटा बजेट ल्याइसकेको छ । त्यसमध्ये सबैभन्दा धेरै गत आर्थिक वर्ष ०७८/७९ मा पुँजीगततर्फ खर्च भएको देखिन्छ । सो आर्थिक वर्षको कुल बजेट ३४ अर्ब ७६ करोड सात लाखमध्ये पुँजीगततर्फ १८ अर्ब ७६ करोड १९ लाख बजेट थियो भने १५ अर्ब ९६ करोड ९० लाख बजेट चालू खर्चतर्फ थियो ।

जसमध्ये पुँजीगततर्फ ८९.७५ अर्थात् १६ अर्ब ८३ करोड ९२ लाख बजेट खर्च भएको आर्थिक योजना मन्त्रालयले जनाएको छ । चालूतर्फ ८२.२ अर्थात् १३ अर्ब १२ करोड ७२ लाख बजेट खर्च भएको थियो । प्रदेश १ सरकारले सबैभन्दा कम पुँजीगत खर्च पहिलो बजेटमा गरेको थियो । आर्थिक वर्ष ०७४/७५ मा चालू खर्च ७८ प्रतिशत हुँदा पुँजीगततर्फ ४० प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

Comments

सम्बन्धित खवर