•  ९ मंसिर २०८१, आईतवार
  •  9:36:28 AM

अपराध नियन्त्रणमा प्रहरीको अस्त्र र भीडको समाजशास्त्र

- चैत्र १२, २०७८ मा प्रकाशित



गंगा पोद्दार

इटहरीः १.चैत ६ गते दिउँसो २ः३० बजे मोरङको लेटाङ्ग नगरपालिका वडा नं. ५ स्थित खेरुवाटोलमा रहेको शिक्षा विकास मा.वि. मा अध्ययनरत बालिकालाई सोही विद्यालयमा कार्यरत शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको विषयलाई लिएर उत्पन्न भएको असामान्य परिस्थितिलाई नियान्त्रणमा लिन १ नम्बर सशस्त्र प्रहरी गण मुख्यालय रानीबाट प्रहरी जवान उर्मिला श्रेष्ठसहित थप मद्धतको लागि खटिएको प्रहरी टोलीलाई सुनिल लिम्बू लगायतका मानिसहरुले ढुंगा तथा घरेलु हातहतियार प्रहार गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भयो ।

२. गत असोज २१ गते राति १०ः३० बजे खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ जाल्पामा प्रहरी चौकी जाल्पाबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई सोही स्थान बस्ने ३५ वर्षीय विनय राई, २७ वर्षीय भेषबहादुर राई, ४५ वर्षीय काजी भन्ने तिलक राई र १९ वर्षीय अनुप राईले प्रहरी जवान विशाल राईको ज्यान मार्ने नियतले चिरपट दाउराले टाउको लगायतमा प्रहार गरी निजलाई घाइते बनाए ।

३. गत कात्तिक ४ गते राति करिब १२ः१० बजे झापाको बिर्तामोड न.पा वडा न.०४ सेवारो होटलमा इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी हवल्दार नेत्रबहादुर खत्रीलाई सोही स्थानका आचार्य थर भएका ब्यक्तिले चुरोट खान मोटरसाइकल चढाई सेवारो होटलमा गई होटल खोल्न लगाउने क्रममा एक्कासी नाम थर नखुलेको ब्यक्तिले धारीलो हतियार प्रहार गरी मार्नुपर्छ भनी हातपात गर्नको साथै निजको साथमा रहेको जिल्ला रामेछाप गुम्देला गा.पा वडा नं.२ स्थायी वतन भई हाल जिल्ला झापा बिर्तामोड न.पा वडा नं.४ अदुव खोलास्थित पदम भन्ने दिपचन वान्तवा राईले सञ्चालन गर्दै आएको होटलमा काम गर्ने कामदार अन्दाजी ५५ वर्षीय केशव बस्नेत समेतले टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइदिए ।

४. गत असोज २४ गते बिहान करिब १०ः३० बजे सुनसरीको इनरुवा नगरपालिका वडा नं.१ गोलपार्क (ईनार चौकमा) ड्युटीमा खटिएकी महिला प्रहरीमाथि मोटरसाइकलमा आएका सल्मान मिया र फैजन मियाँ समेतले गालि गलौजगरी कपाल समाती ,जगल्टयाई ,भुर्इँमा पछारी ,शरीरको विभिन्न भागमा लात्ती र मुक्काले प्रहार गरी अभद्र यवहार गरे ।

उपर्युक्त घटनाहरु प्रहरी कर्मचारीमाथि प्रदेश १ मा भएका ज्यादतिका प्रतिनिधि पात्र मात्र हुन् । यस्ता घटनाहरु प्रदेशभर ठूलो संख्यामा भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कले छर्लङ्ग पार्दछ ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६र७७ मा मात्र प्रदेशभर प्रहरीमाथि ज्यादतिका १५ ओटा घटना प्रहरीमा दर्ता भएका छन् । सो वर्ष उदयपुरमा चार ओटा, ताप्लेजुङमा तीन ओटा र इलाममा सर्वाधिक आठ ओटा घटनाहरु भएका छन् जसमा प्रहरी प्रत्यक्ष रुपमा पीडित भएको छ ।

यसैगरी, २०७७र७८ मा प्रहरीविरुद्धका १६ ओटा कसुरहरु दर्ता भएका छन् । जसमध्ये उदयपुर र सुनसरी, झापा, र ताप्लेजुङमा समान दुई दुई ओटा, खोटाङमा एउटा र इलाममा सर्वाधिक सात ओटा घटनाहरु दर्ता भएका छन् ।

यसैगरी, चालु आर्थिक वर्ष २०७८र७९ को चैत १० गतेसम्म प्रदेशभर प्रहरीविरुद्ध भएका १२ ओटा ज्यादतिका घटनाहरु दर्ता भएका छन् । तीमध्ये तीन ओटा मोरङमा, दुई ओटा सुनसरीमा, सोलुखुम्बु, झापा र ताप्लेजुङमा समान एक एक ओटा र इलाममा सर्वाधिक चार ओटा घटनाहरु दर्ता भएका छन् । प्रहरीको तथ्याङ्कलाई हेर्दा प्रहरीमाथि इलाम जिल्लामा ज्यादतिका घटना बढी हुने गरेको दृश्य देखिन्छ । प्रहरी कर्मचारीमाथि कर्तव्य ज्यानदेखि लिएर ज्यान मार्ने उद्योग, कर्तव्य पालनामा बाधाविरोध र अभद्र व्यवहार सम्मका कसुर हुने गरेको देखिन्छ ।

भीड नियन्त्रणका लागि सामूहिक युनिटमा परिचालित प्रहरीको ज्यान जानेदेखि लिएर कुनै एक निश्चित पोस्टमा एक्लै ड्युटीमा तैनाथ रहेका प्रहरीसमेत आक्रमणमा परेको हुँदा आपराधिक मानसिकता भएका व्यक्ति वा समूहले जस्तोसुकै अवस्थामा जो कोहीमाथि निशाना साध्ने गरेको देखिन्छ । कसुरदारको कस्तो आपराधिक मानसिकता वा मनौविज्ञानले उनीहरुलाई प्रहरीविरुद्ध आक्रमण गर्न दुरुत्साहित गर्छ त ? भनी हामीले सुरक्षा तथा अपराध मामिलाका जानकार पूर्वप्रहरी नायबमहानिरीक्षक (डीआईजी) हेमन्त मल्लसँग कुरा गर्यौँ । पूर्वडीआईजी मल्लले प्रहरी र सर्वसाधारणको सम्बन्ध अत्यन्तै संवेदनशील रहेको भन्दै यसका सकारात्मक र नकारात्मक दुवै आयाम रहेको बताए । निजी जग्गा र भौतिक सम्पत्ति दान गरेर प्रहरीलाई आफ्नो सुरक्षाका लागि साथमा राख्ने सर्वसाधारणले क्षणिक आवेग वा प्रहरी संगठनको शङ्कास्पद कार्यशैलीका कारण विश्वास गर्न नसक्दा प्रहरीमाथि जाइलाग्ने सम्मका घटना हुने गरेको दृष्टान्त मल्लले दिए । सबै घटनामा एउटै प्रवृत्ति आकर्षित नहुने भन्दै उनले कहिले प्रहरीको बदनियतपूर्ण कार्यसम्पादन माथिको आक्रोश त कहिले सर्वसाधारणको गलत बुझाइका कारण प्रहरी निशानामा पर्ने अवस्था आउने उल्लेख गरे । यसका अतिरिक्त घटनास्थलको अवस्थाको पूर्वमूल्याङ्कन गर्न प्रहरी चुक्दा पनि सर्वसाधारणसँग मुठभेडको अवस्था आउने उनको भनाइ छ । हुलदङ्गाजस्ता ठूलो जनसहभागिता भएका घटनाको नियन्त्रण गर्न जाने टोलीलाई घटनास्थलको वस्तुस्थितिबारे पूर्वजानकारी दिन गरिने ब्रिफिङ र टोली फर्किसकेपछि घटनास्थलमा प्रहरीको कार्यसम्पादनको समीक्षा गर्ने कुरामा २०४६ सालपछि व्यापक कमी आएकाले त्यसै समयदेखि यस्ता घटनाहरुमा बढी क्षति हुन थालेको उनले स्पष्ट पारे । प्रहरीलाई आवश्यक पर्ने स्रोत साधनको अभाव तथा मानवअधिकारको सवालका कारण आवश्यकताभन्दा बढी वा कम बल प्रयोग गर्दा पनि परिणाम सुखद नआउने उनको निष्कर्ष छ ।

यसैगरी, प्रहरीमाथि हुने गरेका ज्यादतिका सवालमा समाजशास्त्रीय विश्लेषणका लागि हामीले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका समाजशास्त्र विभाग प्रमुख उपप्राध्यापक डा. चन्द्र उपाध्याय तिम्सिनालाई सम्पर्क गर्यौँ । उनले प्रहरी संगठनका दुई लोकप्रिय नाराहरु प्रहरी ‘मेरो साथी’ र ‘मुस्कान सहितको सेवा’ व्यवहारमा कार्यान्वयन नहुँदा प्रहरीमाथि सर्वसाधारणको विश्वासमा गिरावट आई सम्बन्ध तनावपूर्ण बनेको बताए । परिस्थिति जटिल भइसकेपछि नियन्त्रण गर्ने मात्र नभई परिस्थितिलाई काबुबाहिर जानबाट रोक्ने काम पनि प्रहरीकै भएकाले भीडलाई शक्तिले नियन्त्रण गर्न नसकिने तथ्य र भीडको समाजशास्त्र अर्थात् यसको विध्वंशात्मक चरित्रलाई बुझेर विवेक प्रयोग गरी पूर्वयोजनाका साथ प्रहरीले काम गर्नुपर्ने उनको भनाइ छ । प्रहरीलाई मानवअधिकारको प्रशिक्षण र प्राविधिक सामग्री र जनशक्तिले सम्पन्न बनाउन सके प्रहरी र सर्वसाधारणबीच सुमधुर सम्बन्ध कायम हुने उनले स्पष्ट पारे ।

प्रहरीमाथि आक्रमणको घटनामा अपनाउनुपर्ने कानूनी उपचारका सम्बन्धमा हामीले विराटनगरका अधिवक्ता सागर घिमिरे र इटहरीका अधिवक्ता निराजन ओझालाई सम्पर्क गर्यौँ । दुवै अधिवक्ताहरुले प्रहरीमाथि हुने कसुरको गम्भीरता हेरी मुलुकी अपराध संहिता २०७४ का विभिन्न दफाहरु आकर्षित गरी कारबाही चलाउन सकिने धारणा राखे । संहिताको परिच्छेद २ अन्तर्गत धारा ६० देखि ७४ सम्ममा उल्लेखित सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गतका आवश्यकता हेरी कुनै पनि दफा, परिच्छेद ३ अन्तर्गतको दफा ८५, थुनाबाट भागे वा भगाएको भए परिच्छेद ४ अन्तर्गतका दफा १०१ वा १०२, अभद्र व्यवहार गरेको भए परिच्छेद ५ को दफा ११८ तथा कर्तव्य ज्यान वा ज्यान मार्ने उद्योगसम्बन्धी कसुर गरेको भए दफा १७७ देखि १८३ सम्मका आवश्यकताअनुसार कुनैपनि दफा आकर्षित गरी कारबाही चलाउन सकिने अधिवक्ताद्वय घिमिरे र ओझाले जानकारी दिए ।

Comments

सम्बन्धित खवर