•  ६ मंसिर २०८१, बिहीबार
  •  9:28:46 PM

इलाममा दोस्रो विवाह गर्नेमा महिलाभन्दा पुरुष धेरै

- माघ १९, २०७८ मा प्रकाशित



इलामः श्रीमान वैदेशिक रोजगारीमा गएपछि घरपरिवार धानेर बसेका महिलालाई समाजले अनेक लाञ्छना लगाउँछ । ‘श्रीमानको कमाई कुम्लाएर श्रीमती पोइल जान्छन्’, ‘वैदेशिक रोजगारीले परिवार भाँडियो’ जस्ता भनाइ जताततै सुन्न पाइन्छ ।
श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरूको बाह्य सम्बन्धका बारेमा पनि खुब चर्चा सुनिन्छ । वैदेशिक रोजगारीमा गएकाहरूले यस्ता चर्चाकै कारण आफ्ना श्रीमतीमाथि अनावश्यक शंका गरेकैले पारिवारिक बेमेल हुने गरेको छ । समाजका अगुवा र जाने बुझेकैहरुले श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाहरूलाई अति सामान्य रूपमा टिप्पणी गर्दा समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोणै गलत स्थापित भइरहेको छ । श्रीमान् विदेशमा भए पनि घरपरिवार धानेर बसेका महिलाको चरित्रमाथि प्रश्न उठ्ने गरेको छ । तर, यथार्थ त्यस्तो छैन ।

श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरूको तुलनामा श्रीमती वैदेशिक रोजगारीमा गएका पुरुषहरूले बढी दोस्रो विवाह गर्ने गरेको पाइएको छ । सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीको पार्श्वचित्र बनाउनको लागि संकलन गरेको तथ्यांकअनुसार महिलाको तुलनामा दोस्रो विवाह गर्ने पुरुषको अनुपात धेरै छ ।

पाँचथर, भोजपुर मोरङ र सुनसरी जिल्लाको एक÷एक पालिकाको तथ्यांक महिलाको तुलनामा दोस्रो विवाह गर्ने पुरुषको अनुपात धेरै छ । चार जिल्लाको तीन हजार तीन सय ९२ घरपरिवारका चार हजार तीन सय ८७ पुरुष र पाँच ३१ महिला हाल वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा रहेका चार हजार तीन सय ८७ पुरुषमध्ये एक हजार दुई सय २५५ पुरुष विवाहित छन् । हाल वैदेशिक रोजगारीमा रहिरहेका एक हजार दुई सय ५५ पुरुषका ४५ जना श्रीमतीले दोस्रो विवाह गरेका छन् । दोस्रो विवाह गर्नेमा ३ प्रतिशत महिला मात्रै छन् ।

वैदेशिक रोजगारीमा पाँच सय १३ जनामा एक सय ६० विवाहित छन् । एक सय ६० जना वैदेशिक रोजगारीमा रहेका विवाहित महिलाको ५४ पुरुषले दोस्रो विवाह गरेको सुरक्षित आप्रवासन परियोजनाको तथ्यांक छ । दोस्रो विवाह गर्ने ३४ प्रतिशत पुरुष छन् ।

यस्तै इलाममा पनि दोस्रो विवाह गर्नेमा महिलाको तुलनामा पुरुष नै बढी छ । वैदेशिक रोजगारीसम्बन्धी पार्श्वचित्र तयारीको लागि संकलित तथ्यांकअनुसार वैदेशिक रोजगारीमा रहेका दोस्रो विवाह गर्ने महिला १ दशमलव ७७ प्रतिशत मात्रै छन् भने श्रीमती वैदेशिक रोजगारीमा रहेका दोस्रो विवाह गर्ने पुरुष १३ प्रतिशत रहेको सुरक्षित आप्रवासन परियोजनाले जानकारी दिएको छ ।

इलाम नगरपालिका क्षेत्रमा एक हजार चार सय १५ परिवारका एक हजार दुई सय ३७ पुरुष र दुई सय दुईजना महिला वैदेशिक रोजगारीमा छन् । एक हजार दुई सय ३७ मध्ये आठ सय ७९ जना पुरुष र दुई सयमध्ये एक सय ३६ महिला विवाहपछि वैदेशिक रोजगारीमा गएका हुन् । एक सय ३६ महिलाको २६ जना पुरुषले श्रीमती विदेश गएपछि दोस्रो विवाह गरेका छन् । आठ सय ७९ पुरुषको २२ जना श्रीमतीले दोस्रो विवाह गरेको सामी परियोजनाको कार्यक्रम अधिकृत रामकुमार कर्णले जानकारी दिए ।

कलंक महिलालाई लाग्ने भए पनि यथार्थमा भने अर्कै अवस्था रहेको कर्णले बताए । ‘धेरै आक्षेप महिलालाई लाग्ने गरेको छ, तर यथार्थ अर्कै छ’, कार्यक्रम अधिकृत कर्णले भने, यसले महिलाहरूले अनावश्यक तनाव खेप्नु परेको । हाम्रो पितृसत्तात्मक सोचका कारण महिलाले आक्षेप भोग्नु परेको हो ।’ -न्युज कारखाना

Comments

सम्बन्धित खवर