•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:00:52 AM

तीन स्रष्टालाई पुरस्कारसहित अच्छा राई ‘रसिक’ प्रतिष्ठानको चौधौँ साधारणसभा

- आश्विन १९, २०८१ मा प्रकाशित



इटहरी / अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान इटहरीले आज अग्रज गीतकार दिनेश थपलिया, कवि बम देवान र आख्यानकार बलराम पोखरेललाई सार्वजनिक सम्मानसहित पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले चौधौँ साधारणसभाको अवसर पारेर इटहरीमा थपलियालाई हरिप्रसाद घिमिरेस्मृति, देवान र पोखरेललाई दिपेश राईस्मृति पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको छ ।


लेखनाथ घिमिरेको अध्यक्षता तथा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको मुख्य उपस्थितिमा भएको कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूको कृतित्व र योगदानसहित प्रतिष्ठानका गतिविधिहरू चर्चा गरिएको थियो । समारोहमा प्रतिष्ठानको सहजीकरणमा प्रकाशित कवि विष्णु थापामगरको गीतिकाव्य ‘मन माया’ लोकार्पणसमेत गरिएको थियो ।


अग्रज आख्यानकार अच्छा राई ‘रसिक’को नाममा मानक साहित्यिक गतिविधि सञ्चालन गर्न कवि जीबी लुगुनको परिकल्पना र सदीक्षाअनुरूप २०५२ सालमा अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान गठन गरिएको थियो । २०५८ सालमा आधिकारिक रूपमा संस्थागत गरिएको प्रतिष्ठानले स्रष्टा सम्मान, पुरस्कार वितरण, कृति प्रकाशनलगायत गतिविधि गर्दै आएको छ ।


यसैबीच, प्रतिष्ठानको चौधौँ साधारणसभाले सर्जक केशव सुनामको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको नवनिर्वाचित उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, सचिवमा जीवन राई, कोषाध्यक्षमा लक्ष्मी रेग्मी, सदस्यमा कृष्णविनोद लम्साल, जगदीश सापकोटा र तीर्थकुमार राई रहेका छन् ।

Comments

सम्बन्धित खवर