•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:06:16 PM

इन्स्पेक्टर विनुकुमारीसँग मिलेर इटहरीका व्यवसायलाई ‘हनी ट्रयाप’ मा फसाउने इटहरीकै भिमादेवी पक्राउ

- आश्विन १८, २०८१ मा प्रकाशित



इटहरी । ललितपुरको भैंसेपाटी प्रभागभित्रै इटहरीका एक जग्गा व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ । इटहरीकी भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन् । प्रहरीले यसअघि सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको थियो ।

बलात्कार मुद्दामा फसाई दिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए । त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो । घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । कार्यस्थलमा रहँदा विवादित बन्दै आएकी बिनुकुमारीलाई उपत्यका प्रहरीले जिम्मेवारविहीन बनाएको छ ।  घटनाको विषयमा छानबिन समितिसमेत गठन भएको छ । डिएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरी छानबिन अघि बढाइएको ललितपुर परिसरका एसपी नरेशराज सुवेदीले बताए ।

के थियो घटना ?
केही महिनाअघि सुनसरीमा  चिनजान भएकी एक युवतीले ती व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाउँछिन् । त्यहाँ पुगेलगत्तै प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लैजान्छ । जहाँ बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ हुन्छ । अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार भेट्न बोलाएकी युवतीले ६० लाख रुपैयाँ माग्छिन्। पछि ३० लाख रुपैयाँमा सहमति हुन्छ । ती व्यापारी युवतीसँग घुम्न गएकाले आफू फस्न सक्ने डरले पैसा बुझाउन तयार भएको देखिन्छ। लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनमा देखिएको छ ।

३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुट्छन् । जिल्ला प्रहरी परिसरले प्रभागमा बदमासी भएको सूचना पाउँछ, सोही आधारमा पक्राउ परेका व्यापारीसहित सबैलाई परिसरमा पठाउन निर्देशन दिन् छ। प्रारम्भिक सोधपुछमै घटना हनी ट्रयापिङ भएको र त्यसमा प्रहरीले सहयोग गरेको खुलेपछि दुई जनालाई परिसरले थुनामा राखेर अनुसन्धान अघि बढाएको हो । युवतीले लिएको चेक समेत बरामद भएको छ भने पैसा हालिएको खातासमेत रोक्का राखिएको  छ । घटनाका एक योजनाकार फरार छन् । ती व्यक्तिलाई भगाउन समेत भैँसेपाटी प्रभागको भूमिका देखिएको छ ।

प्रारम्भिक छानबिनमै प्रभागकी इन्स्पेक्टर शाहीको मिलेमतो देखिएको छ । सुरुमा शान्ति सुरक्षासम्बन्धी ठाडो निवेदनका नाममा उनले ती व्यापारीलाई थुनामा राखेकी थिइन् । जब कि ठाडो निवेदनका आधारमा थुनामा राख्न पाइँदैन । अर्कोतर्फ लेनदेनको डिल समेत प्रभागभित्रै भएको देखिएको छ । पक्राउ गरिएका व्यक्तिको गाडी फिर्ता गर्नसमेत डेढ लाख रुपैयाँ घुस लिएको प्रहरी स्रोत बताउँछ । घटनामा प्रहरीको समेत मिलेमतो देखिएमा उनीहरूलाई समेत मुद्दा चलाउने तयारी छ ।

हनी ट्रयापमा फसाउने समूहले प्रहरीसँग छलफल गरेर नै योजना बनाएको देखिन्छ । बलात्कार मुद्दा भए पनि घटनास्थल सुनसरी भएको र आरोपी भनिएका युवक समेत भैँसेपाटीको क्षेत्रमा नबस्नेमा किन सोही कार्यालयमा उजुरी दिन लगाएर पक्राउ गरियो भन्ने विषय सबैभन्दा रहस्यमय  छ । प्रभागकी इन्स्पेक्टर शाहीले घटनाको विषयमा परिसरलाई समेत जानकारी नगराएको परिसर स्रोत बताउँछ । जब कि परिसरको निर्देशनमा मात्र ठाडो निवेदनमा छलफल गराउने प्रावधान छ ।

Comments

सम्बन्धित खवर