•  ३ आश्विन २०८१, बिहीबार
  •  9:41:14 PM

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, मुकुल ढकाललाई कारवाही र छायाँ सरकारको तयारी

- भाद्र ११, २०८१ मा प्रकाशित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुने जनाइएको छ ।

यसअघिको बैठकमा उनलाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो । त्यसअघि पनि उनलाई स्पष्टीकरण सोधिइसकेको छ । पार्टीको प्रतिवेदन मिडियामा चुहाएको, पार्टी हितविरूद्ध गतिविधि गरेको भन्दै उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको छ ।

उनलाई अब रास्वपाका साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न लागिएको हो । यस्तै आज बस्ने बैठकले स्थानीय छायाँ सरकार सञ्चालनबारे कार्यविधि बनाउने छ । पार्टीका आधारभूत संगठन बलियो बनाउन र संगठनात्मक प्रभावकारिताका लागि रास्वपाले स्थानीय तहमा छायाँ सरकार बनाउन लागेको हो । बैठकले समसामयिक पार्टी गतिविधिबारे पनि छलफल गर्नेछ ।

त्यस्तै राष्ट्रिय भेलाको तयारी पनि बैठकले गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । यसअघिको पार्टीको दुई दिने कार्यशालाले राष्ट्रिय भेला गर्न सुझाव दिएको थियो । जसअनुसार केन्द्रीय समितिले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने निर्णय गरिसकेको छ ।

Comments

सम्बन्धित खवर